पहिरोमा परी २३ जनाको ज्यान गयो


 


पोखरा,साउन १४

कास्कीका तीन गाविसका आएको पहिरोले घर पुरेर २३ जनाको ज्यान गएको छ। पहिरोमा परेर भदौरेतामागी, लुम्ले र ढिकुरपोखरीका बासिन्दाको ज्यान गएको हो।

कास्की प्रहरीका अनुसार भदौरेतामागी–५, डुँडाफाटका ५, लुम्ले–६, माझघरका १६ र ढिकुरपोखरी–९, ठुलीचौरका २ जनाको ज्यान गएको छ। पहिरोमा परेर भदौरेका ३ जना पुरुष अझै बेपत्ता छन्। कास्की प्रहरीका अनुसार सबैगरि १३ महिला, ५ पुरुष, ४ बालक र १ बालिकाको ज्यान गएको छ।

१८ जना अझै घाइते छन्। घाईतेको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। पहिरोमा परेर वेपत्ता भएकाको खोजि जारी रहेको प्रहरीले जनाएको छ।
पहिरोमा परि फेवाताल शिरान क्षेत्रको भदौरेतामागी–५ डुँडेफाँटका टिकाराम विक, ६५, रामकुमारी विक, ५५, गौरी पराजुली, ३१, करण पराजुली, ७ र नन्दकली पराजुली, ६५, को ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी केदार रजौरेले जानकारी दिए।

भदौरेतामागीमा १० घर पूर्ण र तीनघर आंशिक क्षति भएका छन् । त्यस्तै लुम्लेको पहिरोमा परेर ज्यान गुमाउनेमा अर्जुन गुरुङ, १०, रत्ना पौडेल, ७०, बसन्ती बिक ८४ र चिजा बिक, ३२, रहेका छन्। त्यस्तै सोही गाउँका सम्झना बिक १४, सलिना बिक १०, सुनिल बिक ९, मञ्जु सुनार २६, उनकी छोरी ३ महिनाकी सिमा सुनार, सुनकुमारी जिसी, ३२, सुगम जिसी १०, संगम जिसी, ५, छिरिङ राई ५६, नाम नखुलेकी छिरिङकी पत्नि, खिमौरी विक ६५ र पदमी देवकोटा ६५ को पनि ज्यान गएको छ।
लुम्लेमा १० वटा घर पूर्ण रुपमा क्षति भएका छन् । त्यस्तै ढिकुरपोखरीको पहिरोमा परेर अस्मिता दाहाल, १७, र प्रेमराज दाहाल, १९, को ज्यान गएको छ। मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ।

प्रकाशित मिति: १४ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्