कथा : रिजेक्टेड



ईण्डिया लाहुरेको पेन्सिनियर बाउको एक्लो छोरो बिरेन स्कुलमा अब्बल नै थियो। मेहनती, ईमान्दार, चलाख, अनुशासित यस्तै यस्तै विशेषण थिए सरहरुले दिएको। त्यो समयमा एस.एल.सि. पनि फर्स्ट डिभिजनमै पास गर्‍यो । छोरोलाई सिभिल ईन्जिनियर बनाउने ठूलो चाहना थियो लाहुरे बाको। त्यसैले एस.एल.सि. पास गर्नासाथ धरानमा आफन्तको साथमा रखिदिए हात्तिसार क्याम्पसमा साईन्स पढाउन।

पढ्न तेज भएकोले खासै समस्या थिएन उसलाई। तर केही समयपछी उसलाई लाहुरेको रहर जाग्न थाल्यो। उसै पनि लाहुरेहरुको शहर धरानमा लाहुरे नखेद्ने केटौलेहरु कमै भेटिन्छन् । एकाबिहान र गोँधुली साँझमा भोटेपुलदेखी निशाने डाँडासम्म सडक दायाँ बायाँ हेरिरहुँ लाग्ने गरि एक चालमा दौडिरहेका हुन्छ्न् युवाहरु।

सायद त्यस्तै कुराले लोभ्यायो बिरेनलाई र उ पनि सामेल भयो त्यो हुलमा। खाईलाग्दो ज्यान थियो फेरि पहाडमा राम्रै गरि काम गर्ने गरेकोले कसरत गर्नु उसलाई समस्या थिएन । पढाइ संगै लाहुरे बन्ने सपनाले कुत्कुत्याउन थाल्यो उसलाई।

त्यतिकैमा दशैँ बिदा भयो। लाहुरे बा चाहदैन थिए कि छोरो पनि आफू जस्तै कसैको दास भएर जिन्दगी बिताओस् । आफ्नै पौरखले आफ्नै देशमा केही गरेर देखाओस् भन्ने चाहन्थे । तर छोरोको लगावप्रती उनले धेरै समय असहमती जनाईरहन सकेनन् । दशैँ सकेर बिरेन धरान झर्दा बृटिश आर्मिको सेलेक्सनको सुचना आईसकेको थियो ।

केही समयको अभ्यासपछी भएको छनौटमा ऊ पास हुन सकेन। उसंगै निक्कै जना धरानमै थन्किए केही मात्र पोखरा पुगे ती मध्ये दुई जना लाहुरे नै भए । केही समयमा फर्स्ट ईयरको परीक्षा पनि आयो । बिरेनले राम्रो गर्न सकेन ।

लाहुरे फेल हुनेहरुले ट्रेनिङ्ग सेन्टर जानुपर्छ भन्ने निचोड निकाले । त्यसैमा सहमती जनाएर भर्ना भयो बिरेन पनि । निक्कै कडा मेहनत गर्दै केही प्रबिधिक अनि अंग्रेजी भाषाको राम्रो तयारी गराईयो। बिरेनलाई बिस्तारै साईन्स मोहले छोड्न थाल्यो । सेकेन्ड ईयरको परीक्षा नै हापिदियो र कमर्स पढ्न थाल्यो ।

दिलिप बान्तवा

फेरि बृटिश आर्मिको छनौट शुरु भयो । यसपाली बिरेनले गेटपास पायो। तर पोखरासम्म मात्रै, त्यहाँबाट फर्किनुपर्‍यो । अर्को सालको सेलेक्सनमा त धरान छाड्नै पो सकेन अझ । हिम्मत हारेन उसले, अब लाग्यो ईण्डियापट्टी । यूकेको लागि पोखरा पुगेको भनेपछी सबै उसले पास गर्छ भन्नेमा ढुक्क थिए । तर लगातार दुई बर्षसम्म दार्जिलिङ्ग भन्दा उता जान सकेन ।

सेटिङ्गबाट निक्कै पास हुन्थे। उ केमा फेल हुन्थ्यो, पत्तै पाउँदैनथ्यो। केटाहरु लखनउ गएर बस्नुपर्छ भन्न थाले, तर ऊ भन्थ्यो,”म लागेँ भने आफ्नै तागतले लाग्छु नत्र चाकडी गरेर चैँ लाहुरे खाँदिन बरु।” अर्को पटक नि भिँड्यो, यो पटक त झन फुस्रेबाटै फर्किनुपर्‍यो।

बिरेनको लाहुरे मोह नि बिस्तारै टुट्न थाल्यो । धरान छाडेर काठमाडौ हान्नियो एक दिन। त्यतिञ्जेलमा बिबिएस दुखसुख गर्दै पास गर्दै थियो। लास्ट ईयरमा ब्याक परेर रिजल्ट बाँकी हुँदा अब युरोप पठाउने कन्सल्टेन्सिहरु धाउन थाल्यो काठमाडौमा । जापान देखि युरोपका सबै देशका लागि ट्राई गर्‍यो ।

सबैले आस्वासन र अन्तिममा निराशा मात्रै दिलाए । टोफल, आईएलटिएस, जिम्याट सबै रामरी गर्दा नि पार लागेन । कलेजमा राम्रो मार्क्स ल्याएको हुनुपर्ने तर उसंग त तारावाला त्यो पनि काम चलाउ मार्क्स मात्र भएको सर्टिफिकेट थियो । काठमाडौमा लगातार तीन बर्षको दौडधुप पछि लखतरान भएर घर फर्क्यो।

ईन्जिनियर बनाउने बाउको सपना, युकेको लाहुरे हुने आफ्नो कल्पना बिचबाटै छाडिदिएर बिबिएसको जस्ट पासवाला सर्टिफिकेट सहित । सोँच्यो बाउको अरु लाहुरे साथिहरु शहरतिर घरबार जोडेर बस्दा आफ्नो बाउ भने किन गाउँमै बसे…! सायद आफुमा भन्दा नि बढी बाउमा स्वभिमानको रंग गाढा छ । आज त्यहिँ स्वभिमानले गर्दा आफ्नै सपनालाई भत्काउन राजी भएको थियो ऊ ।

“घरजम गरेर एसो बुढेसकालमा हेरचाह गर्ला भनेको कहिल्यै बुद्धि नआउने भो यो मुलाङ्को, सत्ताईस बर्ख काट्न आँट्यो केही गर्न सकेन। न मैले भनेको मान्यो न आफैले केही गर्‍यो। के गर्छस त केटा अब, अझै कुदि बस्छस मात्रै…?”

एकदिन बाउले यसो भन्दा पो झस्कियो। उर्बर पछिल्लो दस बर्ष त त्यतिकै बितिसकेछ। भोलिपल्ट बिहान झोला बोकेर ठिक पर्‍यो अरु बेला जस्तै। “फेरि अब काँ जान हिँडिस् नि जहिले यस्तै गर्छ एक्कासी। न सल्लाह गर्छ हामिसित, न आफ्नो कुरा गर्छ ।

के खालको मान्छे भो यो त, जहिले पिर मात्रै ख्वाउँछ।” खाजा दिँदै आमाले रुन्चे स्वरमा भनिन् । लाहुरे बा पनि आईपुगे अगेना छेउ। काँसे डबुकामा जाँड राखिदिईन आमाले। बाउ आमा दुबैलाई हेर्दै, “अब म बिदेश जान हिँडेको, के हुन्छ काठमाडौ पुगेपछी फोन गर्छु। पिर नलिनु, दिदी यहिँ नजिकै छे नि ।” यति भनेर हिँड्यो।

कलेजमा संगै पढ्दाको साथी काठमाडौमा मेनपावर ब्यबसाय गर्छ। राती नै उसलाई फोन गरेर खाडी भए नि जाने कुरा गरेथ्यो। “नजिस्की न हौ, युरोप जाने मान्छेलाई हामिले कसरि पठाउनु हौ…” पत्याएको थिएन शुरुमा। ” हो भनेको, कहिँ पार लागेन। न सीप छ हातमा न सर्टिफिकेट गतिलो छ साथमा। जिन्दगी त चलाउनुपर्‍यो नि। सिरियस हो यार।” साथी पनि सिरियस नै भयो।

“दुबईको सेक्युरिटिमा जाने हो त? पिएसबिडी जाँच पास गर्नुपर्छ, अन्यको दाँजोमा ठिकै छ हौ।”

“लु त्यो जाँचवाला चैँ हुन्न होला हौ। अहिलेसम्म दिएको सबैमा म रिजेक्ट भएको मान्छे त्यहाँ नि उस्तै होला त नि।”

” त्यसो हुन्न के अंग्रेजी राम्रो छ तेरो, फेरि कलेज नि पास गरेको छ। लाहुरे खेद्दाको फिजिकल फिट्नेस नि छँदैछ। हामिले भनेको नि केही लाग्छ क्या।”
साथिको यस्तो आस्वासनपछी नै उसले बिहानै काठमाडौ हान्निने सोँच बनाएको थियो। र त्यहिँ साथिलाई पैसाको जोहो गर्न नि भनिसकेको थियो।

र अन्त्यमा बिरेन घरबाट हिँडेको तीन हप्तामा दुबईको सेक्युरिटी फोर्सको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा जहाज चढ्ने बोर्डिङ्ग पास लिँदैथियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News