कथा : नोस्टाल्जिक



सेप्टेम्बरको अन्तिम साता । चिसो निक्कै बढेको छ । बिहान बिहान अलि बाक्लै ज्याकेट लगाउन थालेको हप्तादिन जति भयो । स्टेशनसम्म पुग्दा मुखबाट निस्कने सास बाफ बनेर उडेको रामरी नै देखिन थालेको छ। सँधै झै पन्ध्र मिनेट पहिला नै स्टेशनमा पुगें म। सबेरै केही खाली स्टेशनमा बसेर टहलिनुको मजा लिने बानी परेको छ मलाई।

सँधै बस्ने सिटमा बस्दै गर्दा सँधै जस्तै सँधैको आजुमा पनि त्यहिँ थिईन अनि त्यहिँ थियो उनको कफि कप दाहिनेपट्टी र देब्रेपट्टी थियो उनको जिउ जस्तै रुग्न हुन लागेको एउटा झाडु (brash) । तर सँधै जस्तो म पुग्नासाथ हाँसेर अभिबादन गरिनन् र सँधै जस्तो उनको कफि कप खाली हुन लागेको थिएन ।

उनी एउटा पुरानो आईफोनको स्क्रीनमा भिडियो हेर्दै थिईन् र आँखाबाट टिल्पिल आँसु झार्दै थिईन् अनि उनको कफि कपमा सेलाईसकेको कफि भरी नै थियो । सँधै जस्तै म पनि एउटा कफि लिएर उनकै नजिक बसेँ। त्यसपछी मात्र फिसिक्क हाँसिन उनी ।

उनी अर्थात स्टेसन सफा गर्न बिहान सिफ्टको ड्युटिमा आउने आजुमा(आन्टी)  प्राय फर्स्ट ट्रेन आईपुग्नु अगाडि आफ्नो एक राउन्ड काम सकेर थकाई मार्दै गर्दा ट्रेन आईपुग्छ र त्यो थकाई मार्ने समयमा म टुप्लुकिएर उनिसंग गफिन थालेको मेरो पहिलो दिनदेखी कै हो।

हामी संगै बसेर कफि पिउँथ्यौँ उनी नेपालको बारेमा सोध्थिन् जानेसम्मका बिषयहरुमा अनि म कनिकुथिको आफ्नो कोरियन भाषा प्रयोग गरेर सुनाउँथे। यो एउटा हाम्रो अघोषित नियमितता जस्तै भएको थियो। म पुग्नासाथ उनलाई नदेखे के के नपुगे जस्तै खल्लो लाग्थ्यो।

तर आज माहोल फरक छ। उनी कुनै गहिरो बेदनामा भएको महसुस भयो। उनको ध्यान खिच्न अलि बज्ने गरि कफि सुरुप्प पारेँ। अनि सोधेँ किन रोएको भनेर । उनले भनिन् “जुन दिन तिमिलाई यहाँ भेटेँ मेरो छोरो जस्तै लाग्यो।

उस्तै कद, त्यहिँ उमेर अनि उ जस्तै हँसिलो र कम्ती बोल्ने रैछौ। तर अहिले उ मसंग छैन । परिवारसंगै शहरमा बसेको छ। यहाँको जिवनशैली अति ब्यस्त छ, मेहनत गरेन भने परिवार धान्न मुस्किल छ। त्यसैले ऊ घर आउन पाउँदैन ।

दिलिप बान्तवा

उसको नि एउटा छोरा छ, दुई साल पुगेको। उसका गतिबिधिहरुको भिडियो पठाईदिन्छ मोबाईलमा अनि हेर्छु मेरो छोरा जस्तै लाग्छ उसको छोरा। पोहोर मेरो पति बितेपछी यिनै भिडियोहरु हेरेर  समय बिताउँछु। अनि यो स्टेशनमा आएर तिमिलाई देखेपछी आफ्नो छोरा भेटे जस्तो लाग्छ।” मैले पनि टाउको अलिकती उनितिर ढल्काएर हेरेँ, भर्खर हिँड्न सिक्दै गरेको उनको नातिको लड्दै उठ्दै विभिन्न गतिबिधि गर्दै गरेको भिडियो रहेछ।

उनिसंग भेटेको केहि दिन मै उनले मलाई निक्कै कुरा सोधेकी थिईन्। मेरो उमेर, बिहा, परिवार ईत्यादी। हुन त यहाँ यी कुराहरु सोधिनु सामान्य लाग्न थालेको थियो मलाई किनकी भेटिने मान्छेले प्राय यिनै सवालहरु शुरुमा सोध्ने गर्दा रहेछन्। तर आज थाहा भयो उनले फगत औपचारिकताको लागि सोधेकी थिईनछिन् ।

“यो हप्ता देखि यहाँको मुख्य चाड छुसक शुरु हुँदैछ। शहर बस्ने सवैका छोराछोरिहरु घर फर्किनेछन्। तिनका मृतक आफन्तहरुको चिहान सफा गर्नेछन् र चेरी निर्माण गरेर पुजा गर्नेछन्। सोङ्फ्यन, हंवा बनाई खानेछन् । अनि छुसकको रात हान्बोग पहिरिएर गांगांसुले नाच नाच्नेछन् । तर म यी मध्ये कुनै पनि काम गर्ने छैन, किनकी मेरो साथमा मेरा मृतक आफन्तहरुको आत्मा बाहेक बाँकी केही छैन। त्यसैले उनको चिहान सफा गरेर चेरिमा पुजा गर्छु, अनि बाँकी रमिता हेर्नुछ मेरा जिबित परिवारहरुको यादमा। थोरै आशा छ, मेरो छोराले केही उपहार पठाईहाल्छ कि…!”

आईफोनको स्क्रीनबाट आँखा नहटाईकनै उनका यी बेदनाहरु बताईनसक्दै ट्रेन आफ्नो प्लेटफर्ममा रोकिईसकेको थियो। उनिबाट छुट्ने अनुमती लिएर म ट्रेन चढ्न लागेँ । ढोकानिर पुग्दा एक्कासी पछाडी फर्किन पुगेछु। रुञ्चे भाबमा मतिर हेरिरहेकी थिईन् । कहिल्यै म त्यसरी फर्किन्न्थिएँ, लाग्यो सायद उनले दैनिक त्यसरी नै मलाई हेर्दैरहेछिन् ।

त्यो दिन मलाई किन किन ती आजुमा  आफ्नो सन्तानहरुसंग टाढिएको पिडामा छट्पटाईरहेको आफ्नै आमा जस्तो लाग्यो। ट्रेनमा झ्यालनिर बसेँ। ट्रेन चल्न थाल्यो।उनितिर हेरेँ, दाहिने हातमा ठूलो ब्रस अनि देब्रे हातमा चिसिएको कफिले भरिएको कफि कप लिएर डस्टबिनतिर लम्कँदैथिईन् ।

सम्झेँ उता मेरो आमालाई। दशैँको रमझममा मस्त छ गाउँ। शहरमा बस्ने र परदेश लाग्नेहरु दशैँमा गाउँ फर्किए। सम्झिदै होलिन् आमाले म आईनपुग्ने कुरा थाहा भएर  पनि कतै त्यहिँ हुलमा मेरो छोरो पनि मिसिएर आउँदैछ कि भनेर। मेरि आमासंग मोबाईल फोन त छैन खिचिएका भिडियोहरु हेर्नलाई। तर सिकुवाको डिलमा वसेर हृदयको स्क्रीनमा बिगतमा छोराको यादहरुलाई स्लाईड गर्दै मुर्छित भईरहेकी होलिन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News