हात्तीले बस्ती भत्कायपछि खुल्ला आकाशमुनि बस्न बाध्य

लहान, पुस १४
जंगली हात्तीले गएराति सिरहाको लहान नगरपालिका-१५ ढोड्नास्थित दलित बस्तीमा तीनजनाको घर भत्काएको छ ।
नजिकैको जंगलबाट आएको हात्तीले ढोड्नाका स्थानीयवासी शिवशंकर सदाय, देबिन सदाय र सियाराम सदायको घर भत्काएपछि उहाँहरुको परिवार चिसो शीतलहरीमा कठ्याङग्रिएर खुल्ला आकाशमुनि बस्न बाध्य भएकाछन् ।
मध्यरातमा आएका हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाए पनि बस्ने घर भत्काएका कारण खुल्ला आकाशमुनि बस्न बाध्य भएको पीडित शिवशंकर सदाले बताउनुभयो ।
यस्तै, गएराति नै जंगली हात्तीले सिरहाको गोलबजार नगरपालिका-३, गोला मुक्सारका स्थानीयवासी बलराम थापाका तीनवटा घर भत्काएको छ ।
केही दिनअघिदेखि गाउँ पसेको जंगली हात्तीले सिरहाका विभिन्न गाउँमा घर भत्काउने, बालीनाली नष्ट गर्ने गरेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य छन् ।
प्रकाशित मिति: १४ पुस २०७४, शुक्रबार
















