हराएको सिमकार्ड दुरुपयोग गरी २४ लाखभन्दा बढी ठगी, दुईजना पक्राउ



काठमाडौं । सर्वसाधारणको हराएको सिमकार्ड प्रयोग गरी मोबाइल बैंकिङमार्फत लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुली फिक्कल गाउँपालिका–४ घर भई हाल भक्तपुरको सिर्जनानगर बस्ने २६ वर्षीय रोशन पहाडी र डडेल्धुरा अमरगढी नगरपालिका–८ घर भई हाल ललितपुर कुपण्डोल बस्ने २५ वर्षीय सुभाष ओझा रहेका छन्। पहाडीलाई भक्तपुरको सल्लाघारीबाट र ओझालाई ललितपुरको एकान्तकुनाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानअनुसार पीडित कान्छी लामाको नाममा वि.सं. २०७० मा जारी भएको सिमकार्ड प्रयोग गरी उनले बैंकिङ सेवा लिएकी थिइन्। उक्त सिमकार्ड हराएपछि पछि पुनः सक्रिय भएको अवस्थामा मोबाइल बैंकिङ सेवा दुरुपयोग भएको खुलेको हो।

अनुसन्धानका क्रममा सो हराएको नम्बर वि।सं। २०७८ मा रोशन पहाडीको नाममा पुनः जारी भएको देखिएको छ। त्यसपछि बैंक खातासम्बन्धी सन्देशहरू पहाडीको मोबाइलमा आउन थालेका थिए।

प्रहरीका अनुसार पहाडी र ओझाले मिलेर सोही नम्बर प्रयोग गरी कुमारी बैंकको मोबाइल बैंकिङ प्रणालीमार्फत विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पार्दै ईसेवा, खल्ती तथा अन्य बैंक खातामा रकम ट्रान्सफर गराउने र पछि रकम झिक्ने गरेका थिए।

उनीहरूले वि।सं। २०८० असारदेखि २०८२ असोजसम्मको अवधिमा कुल २४ लाख ४७ हजार ५२८ रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ।

पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले जानकारी दिएका छन्।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्