मिल सञ्चालन नगर्दा महोत्तरीका उखु किसान चिन्तित

गौशाला, पुस १४
चिनी मिलले उखुको मूल्य निर्धारण, उखु खरिद र मिल सञ्चालन नगर्दा महोत्तरीका किसान चिन्तित भएका छन् ।
पुसको दोस्रो हप्ता भइसक्दा पनि यस वर्ष अहिलेसम्म एभरेष्ट सुगर एण्ड केमिकल इण्डट्रिज सञ्चालनमा आउन सकेको छैन ।
गौशाला नगरपालिका-१ रामनगरमा रहेको सो चिनी मिल सञ्चालनमा नआउँदा सयौँ बिगाहा जग्गामा उखुखेती गरेका किसान चिन्तित भएका छन् ।
मिलले मंसिर महिनामै उखु क्रसिङको काम थालिसक्नु पर्नेमा अहिलेसम्म शुरु गरेको छैन । उखु काट्ने बेला भएर पनि मिलले उखु खरिद र मूल्य निर्धारण नगरेका कारण उखु काट्न डराइरहेको गौशाला-१ का राजकिशोर यादवले बताउनुभयो ।
“उखु खेतमै सुक्न थालेको छ,” उहाँले भन्नुभयो । किसानले ऋण गरेर लगाएको लगानी नउठ्ने किसानलाई चिन्ता छ । जिल्लामा यस वर्ष उखुखेतीमा कमी आएको छ । गत वर्ष जिल्लामा १५ हजार बिगाहामा उखुखेती गरिएकोमा यस वर्ष सात हजार बिगाहामा मात्र उखुखेती गरिएको छ ।
उखुखेती घट्नुको प्रमुख कारण मिल समयमा सञ्चालन नहुनु र मूल्य निर्धारण नगरिनु रहेको गौशाला-२ का रामबाबु यादव बताउनुहुन्छ । गत वर्ष जिल्लामा प्रतिक्विन्टल रु ५३१ मा किसानले उखु बिक्री गरेका थिए ।
प्रकाशित मिति: १४ पुस २०७४, शुक्रबार
















