कालीमाटीका स्थानीय वर्षौंदेखि अन्धकारमा


 


सल्यान, पुस १७
सल्यानको कालीमाटी गाउँपालिकामा कुनै पनि वडामा विद्युत् सुविधा नपुग्दा वर्षौंदेखि स्थानीय वासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

सातवटा वडा रहेको कालीमाटीमा बिजुली बत्तीको पहुँच नपुग्दा स्थानीय धेरै कुरामा पछाडि परेका छन् । विद्युत् अभावमा गाउँपालिका झनै प्रभावित देखिएको छ ।

स्थानीय सरकारका रुपमा रहेको गाउँपालिका कार्यालयले वासिन्दालाई सेवा प्रवाह गर्दा विद्युत् अभावमा प्रभावकारी हुन नसकेको पाइएको छ भने दैनिक कार्य सम्पादनमा समेत बाधा पुग्ने गरेको छ ।

कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बिजुली बत्ती नहुँदा उत्पन्न हुने समस्या आफूहरुले झेल्नु परिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “बिजुली नहुँदा कार्यालयमा सञ्चालन हुने हरेक काममा समस्या उत्पन्न हुने गरेको छ, विद्युत् अभावकै कारण हाम्रो गाउँपालिका टेलिफोन, इन्टरनेट तथा बैंक सेवाबाट वञ्चित हुनुपरेको छ ।”

कतिपयले वैकल्पिक ऊर्जाको रुपमा सोलार जोडेको भए पनि अझै स्थानीय टुकी बालेर अध्याँरो हटाउनुपर्ने बाध्यतामा रहेको गाउँपालिका उपाध्यक्ष सनशीलता ओलीले बताउनुभयो ।

“गाउँपालिकालाई कुटानी, पिसानीदेखि लिएर मोबाइल चार्ज गर्नसमेत समस्या छ” उहाँले भन्नुभयो “गाउँपालिकाको कार्यालयमा पनि कर्मचारीले बिजुली अभावमा काम गर्न कठिनाइ हुने गरेको सुनाइरहन्छन् ।”

अन्धकार हटाउने र विद्युत् भित्र्याउने भन्दै गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि रु एक करोड ५० लाख विनियोजन गरेको छ ।

छिमेकी जिल्ला सुर्खेत र दाङबाट विद्युत् भित्र्याउने तयारीमा आफूहरु लागेको उपाध्यक्ष ओलीले बताउनुभयो । विद्युत्को पोल गाड्ने जिम्मा पाएको ठेकेदारको ढिलासुस्तीले गर्दा पनि कालीमाटी गाउँपालिकालाई विद्युत्को पहुँचमा पुर्याउन समस्या भइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।

अध्यक्ष केसीले भन्नुभयो ‘‘गएको भदौमा नै ठेकेदारले पोल गाड्ने जिम्मा पाएको हो तर उसकै ढिलासुस्तीले गर्दा बिजुली बाल्ने गाउँपालिकाको रहर पूरा हुन सकेको छैन ।’’

बिजुली भित्र्याएपछि आफूहरु टेलिफोन, इन्टरनेट जडान र बैंक ल्याउनका लागि काम अगाडि बढाउने तयारीमा रहेको केसीले बताउनुभयो । बिजुली अभावकै कारण टेलिफोनको समस्या आइपरेको उहाँको भनाइ छ ।

अहिले गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा नमस्ते फोन र वडा नम्बर ४, ५, ६ र ७ मा स्काइ तथा एनसेलले आंशिकरुपमा काम गर्ने गरेको अध्यक्ष केसीको भनाइ छ ।

विद्युत् नभएकै कारण इन्टरनेट जडान हुन नसकेको तथा बैंक आउन नमानेका कारण विकास निर्माणका काममा प्रत्यक्ष प्रभाव परेको गाउँपालिकाले जनाएको छ । बैंक नहुँदा सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति: १७ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्