डोल्पामा मन्दिरसहित आठ घर जल्दा दुई करोड ३२ लाखको क्षति
डोल्पा, पुस २७
हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाअन्तर्गत वडा नं ९ होर्तमा आगलागीबाट एक मष्टा मन्दिरसहित आठ घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट दुई करोड ३२ लाख बराबरको क्षति भएको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिनुभयो ।

आगलागीमा परेर पाँचसय वर्ष पुरानो मष्टा मन्दिर पनि जलेको छ, मन्दिर भित्र भएको बहुमूल्य मूर्ति जल्दा एक करोड बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट घर जलेर पीडित हुनेमा मुड्केचुला-९ होर्त गाउँका नन्दकुमारी बुढा, सुन्द्रा बुढा, पम्फा बुढा, पिपला रोकाय, रामबहादुर बुढा, शान्ति बुढा, दलजित बुढा र कर्णबहादुर बुढा रहेको प्रहरीले जनाएको छ ।
कर्णबहादुर बुढाका तीनवटा बाख्रा पनि जलेको बताइएको छ । बुधबार बेलुकी शुरु भएको आगलागी आज बिहान मात्रै १४ घण्टापछि नियन्त्रणमा आएको थियो । रासस
प्रकाशित मिति: २७ पुस २०७४, बिहिबार
















