अझै अन्धकार जीबन बिताउदै औरहीका स्थानीयवासी

राजविराज, पुस ३०
सप्तरीको अति विकट मानिएको डाकनेश्वरी नगरपालिका-३, औरही गाउँमा बिजुली नहुँदा जनता अँध्यारोमा दिन बिताउँदैछन् ।
भारतीय सीमा नाकासँग जोडिएको सो गाउँमा अहिलेसम्म बिजुली नपुगेको स्थानीयवासी देवकुमार यादवले बताउनुभयो ।
सदरमुकाम राजविराजदेखि पश्चिम दक्षिणमा अवस्थित सो गाउँमा हालसम्म विद्युत् नहुँदा मोबाइल चार्ज तथा गहुँ- धान कुटाउनीपिसाउनी गर्नसमेत समस्या हुने गरेको गुनासो उहाँले गर्नुभयो ।
दलित, मुसलमान र यादवको बसोबास रहेको उक्त गाउँमा करिब पाँच वर्ष अगाडि नेपाल विद्युत् प्राधिकरणले खम्ब गाडे पनि अहिलेसम्म तार नदिएका कारण बिजुली बाल्नबाट आफूहरु वञ्चित भएको स्थानीयवासी मुकेशकुमार यादवले बताउनुभयो ।
तीन सय घरधुरी रहेको साविकको औरही गाविसबाट तीन लाखमा खम्बा र तारका लागि बजेट छुट्याइए पनि हालसम्म विद्युत् नपुग्दा आफूहरुलाई भारतीय गाउँमा मोबाइल चार्जलगायत अति अवाश्यक काम गर्न जानुपर्ने बाध्यता रहेको मिरदुल यादवले दुखेसो पोख्नुुभयो ।
यता प्राधिकरणले भने त्यहाँ छिट्टै विद्युत् दिइने जनाएको छ । रासस
प्रकाशित मिति: ३० पुस २०७४, आइतबार
















