सस्तो मदिराका कारण आक्रान्त बन्दै समाज
अछाम, पुस ३०
अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुपै्र अछामीको जीवन नै बर्बाद हुन थालेको छ ।
दुर्गम गाउँसम्म सहजै उपलब्ध हुने मदिरा सेवनको कारणले कलिलै उमेरमा थुप्रैको जीवन बर्बाद हुने स्थितिमा पुगी समाज नै आक्रान्त बन्न थालेको छ ।
करिब २४ वर्षपछि २०६८ चैतदेखि मदिराको खुला बिक्रीवितरण शुरु भएको अछाममा मदिराको सही व्यवस्थापन हुन नसक्दा त्यसबाट नकारात्मक असर देखिन थालेको छ ।
गाउँगाउँमा सहजै रुपमा उपलब्ध हुने कमसलखालको मदिरा सेवनकै कारणले थुपै्र मानिसको जीवन बर्बाद हुने स्थितिमा पुग्न थालेको छ । पचहत्तर युपीको न्यूनतम रु २५/३० सम्ममा पनि मदिरा उपलब्ध हुन थालेपछि के युवा के वृद्धवृद्धा सबैमा यसको खपत बढेको छ ।
मदिरासेवन अछामीका शरीरमा अर्बुदजस्तै बनेर जरा गाड्न थालेको छ । अत्यधिक मात्रामा मदिरा सेवनकै कारणले स्वयं व्यक्तिको स्वास्थ्य र ज्यानमा त प्रत्यक्ष असर परेको छ नै घरपरिवार र समाजमा झैझगडा बढेको छ ।
प्रहरीको अध्ययनअनुसार समाजमा हुने हत्या, आत्महत्या, कुटपिट, गालीगलोजलगायत अधिकांश घटनाका पछाडि मदिरा सेवन नै प्रमुख कारण रुपमा देखिएको छ ।
गत आवमा प्रहरीमा परेका निवेदन र उजुरीमध्ये ७० प्रतिशतभन्दा बढी घटना हुनाको पछाडि मदिरा सेवन नै प्रमुख कारणका रुपमा देखिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो । “कुनै पिर पर्दा होस् या खुशीयाली मनाउँदा होस्, अधिकांशले मदिरा नै सेवन गर्ने पाइएको छ ।”
श्रीमान् मदिरा सेवन गरेर घर आएपछि श्रीमतीसँग झगडा हुने र त्यही कारणले महिला हिंसाका घटना बढ्नाका साथै स्वयं व्यक्ति तनावमा आएर आत्महत्या गर्नसम्म पुगेको न्यौपानेले बताउनुभयो ।
दुर्गम गाउँसम्म ७५ युपीसम्म मदिराको मात्रा भएको ‘कर्णाली सौफी’सहजै उपलब्ध भइरहेको छ ।
२५ देखि ३० सम्ममा पाइने उक्त मदिरा गाउँगाउँमा सहजै उपलब्धताकै कारणले न्यून आय भएका मानिसले सेवन गर्न सक्ने हुँदा यसबाट समाजमा भयावह अवस्था नै सिर्जना भएको मेल्लेख गाउँपालिका-५ का रेवन्त अधिकारीले बताउनुभयो ।
कर्णाली सौफीकै कारणले सिंगो गाउँ नै आक्रान्त बनेपछि गत वर्ष तत्कालीन गाउँ परिषद्ले मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरेको थियो ।
“कर्णाली सौफी समयमै बिक्रीवितरणमा प्रतिबन्ध नलगाएमा थुपै्र कलिला जीवन यसले निल्ने छ”, अधिकारीले चिन्ता व्यक्त गर्नुभयो । रासस