चोरी भएका गरगहनासहित चार पक्राउ



सप्तरी, माघ ४
सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ स्थित सुनचाँदी पसलबाट चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । करिब २७ लाख बराबरको सुनचाँदीको गहनासहित उनीहरु पक्राउमा परेका हुन् ।

पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका-४ का मुरलीकुमार साह, छिन्नमस्ता गाउँपालिका-५ का सन्तोषकुमार साह सुनार, सोही स्थान निवासी शत्रुधन साह सुनार, वडा नं ४ महेश यादव रहेको प्रहरी नायब उपरीक्षक धु्रवकुमार श्रेष्ठले बताउनुभयो ।

उनीहरुको साथबाट काँडाबाला हसुली दुई थान, काँडावाला चुरी दुई थान, काँडावाला चुरा दुई थान, बच्चाले लगाउने काँडाबाल चुरी आठ थान, बच्चाले लगाउने सादा चुरा १२ थान, महिलाले लगाउने पञ्चक पाँच थान, विभिन्न नमूना र आकारका बाला सात थान, पायल १६ थान र २० थान दुईहारे सिक्री बरामद गरिएको छ ।

यसैगरी पाउजु ५१ थान, ब्रासलेट १२ थान, सिक्री थान ४५, चुरी ठूलो एक सानो २ थान, काटिएको बेरुवा एक थान , औंठी ४९ थान, बिच्छी ४२थान , चकती १७ थान, गणेश भगवान्को मूर्ति एक थान, सिन्दूर क्याप एक थानलगायतका सिक्का तथा सुनचाँदी तौल गर्ने औजारसमेत बरामद गरिएको छ ।

त्यस्तै चोरी भएको रकमबाट खरिद गरिएको ना ४९ प १९०७ नंको टिभिएस मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका चारैजनामाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: ४ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्