​घैंटेको विषय लिएर गगन थापा पुगे मानव अधिकार आयोग


 


काठमाडौं, भदाै ६

गुन्डा नाइके कुमार घैँटे मृत्युको घटना छानबीनको माग गर्दै नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापा सहितका नेता राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन्। आइतबार दिउँसो मानव अधिकार आयोगको कार्यालय पुल्चोक पुगेर कांग्रेस केन्द्रीय सदस्य गगन थापा, र सभासद जगदिश्वरनर सिंह केसी र भीमसेनदास प्रधानले प्रहरीले ज्यादती गरेको भन्दै छानबीन गर्न आग्रह गरेका थिए।

मानव अधिकार आयोगकी प्रवक्‍ता तथा सदस्य मोहना अन्सारीले कुमार घैंटेको परिवारलाई सहयोग गर्न गगन थापा सहित अरु दुई जना सभासद आएको बताइन्। थापा सहितका कांग्रेस नेताहरु मानव अधिकार आयोगका सदस्य सुदीप पाठक तथा अध्यक्ष अनुपराज शर्मासँग भेटघाट गरेर घटना छानबीनको आग्रह गरेका हुन्।

थापा र केसी कुमार घैँटेका केही समर्थक सहित आयोग पुगेका थिए। यस सम्बन्धमा बुझ्न खोज्दा आयोगका सदस्य सुदीप पाठकले अध्यक्षसँग कुरा गर्न आग्रह गरे।

थापा र केसी आयोग पुगेर पहिला सदस्य सुदीप पाठकलाई भेटेका थिए। पछि उनैले अध्यक्ष अनुपराज शर्मासँग भेट गराएका थिए।

आयोगमा पुगेर नेताहरुले कुमार घैँटेले आफुमाथि सुरक्षा खतरा रहेको भन्दै मानव अधिकार आयोगमा पहिले नै उजुरी दिइसकेको सन्दर्भमा प्रहरीले नियोजित रुपमा हत्या गरी ‘इन्काउन्टर’को नाम दिएको भन्दै घटनाको छानबीन गरिदिन आयोगलाई आग्रह गरेका थिए।

भदौ ३ गते बिहीबार काठमाडौंको सामाखुसी कपुरधारामा नेपाल प्रहरीको सादा पोशाकमा रहेको टोलीसँगको ‘भिडन्त’मा घैँटेको मृत्यु भएको थियो। घैँटे समर्थकहरुले प्रहरीले उनलाई घरबाट निकालेर नियोजित रुपमा हत्या गरेको आरोप लगाइरहेको छ। सभासद जगदिश नरसिंह केसीले आफुहरु मानव अधिकार आयोग नगएको दाबी गरे।

पहिलोपाेष्टबाट

यो पनि पढ्नुहोस्

घैंटे मारिएपछि गृहमन्त्री र आइजीपीले सर्वेन्द्र खनाललाई के भने ?

घैंटे यसरी मारिएको थियो (हेर्नुहोस् भिडियो)

प्रकाशित मिति: ६ भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्