जाजरकोटमा जडीबुटी चोरी-निकासी बढ्यो

जाजरकोट, माघ १०
जाजरकोटको वारेकोट गाउँपालिकामा रहेका विभिन्न सामुदायिक वनमा जडीबुटी चोरी-निकासी बढेको छ । सामुदायिक वन र वडा कार्यालयले जडीबुटी संकलन गर्न प्रतिबन्ध लगाए पनि भित्रभित्रै चोरी बढेको हो ।
पटक-पटक चोरी-निकासीका लागि वडा कार्यालय र सामुदायिक वनले ताकेता गरेपनि स्थानीय व्यापारीबाट लुकिछिपी चोरी-निकासी रोकिएको छैन ।
जुम्लाका व्यापारीको मिलेमतोमा यहाँका हिमालबाट चोरी-निकासी बढेको छ । वारेकोट गाउँपालिका-४ का सबै हिमालमा जडीबुटी चोरी-निकासी बढेको हो । काँडामासी, भुत्ले, खिराङलो, चुक, पाँचऔले, लसुन, तीतेपाती लगायतका जडीबुटी चोरी-निकासी भएको छ ।
स्थानीय व्यापारीले कामदार नै लगेर चोरी-निकासीका लागि संकलन तथा निर्यात गरिरहेका छन् । हिमालमा ४०० भन्दा बढी पाल राखेर चोरी-निकासी भइरहेको स्थानीयवासी कालीबहादुर बोहराले बताउनुभयो ।
स्थानीय व्यापारीबाट चितुवा, बाघ, भालु, मृग तथा विभिन्न वन्यजन्तुसमेत चोरी-शिकारी यही ठाउँबाट भइरहेको छ । जुम्लाको सिमानामा भएका कारण निगरानी गर्न समस्या भएको छ । सामुदायिक वनका केही सदस्यको मिलेमतो समेत रहेको बताइएको छ ।
प्रकाशित मिति: १० माघ २०७४, बुधबार