नेपाल आज पपुवा न्युगिनीसँग खेल्दै, जितेमा एकदिवसीयको मान्यता


 


काठमाडौं, चैत १
आईसीसी एक दिवसीय विश्वकप छनोटको सुपरसिक्समा पुग्न नसकेको नेपाली क्रिकेट टिमले आज पपुवा न्युगिनीसँग खेल्नेछ । एकदिवसीय मान्यता पाउने लक्ष्यका नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ ।

जिम्बावेको हरारे क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउसो सवा एक बजेबाट खेल हुनेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शिर्ष चारमा परेर विश्वकप छनोटमा पुगेको पिएनजीले यो प्रतियोगितामा एक खेलपनि जित्न सकेन ।

वेष्ट इन्डिज, आयरल्याण्ड जस्ता टिम रहेको समुह ए मा परेको पिएनजीले चार खेलमा चारैमा पराजित भएको थियो । यता नेपालले समुह बीमा चार खेलमा तीनमा हार र अन्तिम खेलमा हङकङलाई हराउदै समुहमा चौथो स्थानमा रहेको थियो ।

हेड टु हेड हेर्ने हो भने नेपालले अहिलेसम्म पिएनजीलाई हराउन सकेको छैन । अन्तिम पटक यी दुई टिम विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेलेका थिए ।

जसमा नेपाल पहिलो खेलमा दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा तीन विकेटको हार ब्यहोरेको थियो । तर विश्वकप छनोटमा एक दिवसिय मान्यता पाउने लक्ष्यमा रहेको नेपालले भोली पिएनजीलाई हराउन सकेमा त्यो पुरा गर्नेछ ।

नेपालले पिएनजीसँग खेल्दा समुह ए को चौथो स्थानमा रहेको नेदरल्याण्ड्सले हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

यदि नेपालले पपुवा न्युगिनीलाई हराएमा र नेदरल्याण्ड्सले हङकङलाई पराजित गरेमा नेपालले चार बर्षका लागि एक दिवसिय मान्यता पाउनेछ । तर नेपाल पराजित भएमा त्यो सम्भावना समाप्त हुनुका साथै डिभिजन टु मा घटुवा हुनेछ ।

एकदिवसीय मान्यता पाएमा टी ट्वान्टी मान्यता स्वतह पाइन्छ ।

प्रकाशित मिति: १ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्