मोफसलकै सर्वाधिक पुरस्कार राशीको दमक गोल्डकप – २०७५ हुने


 


झापा, २९ चैत । नयाँ बर्ष २०७५ देखि झापामा थप अर्को एउटा गोल्डकप सुरु हुने भएको छ । दमक नगरपालिकामा ‘दमक गोल्डकप’ सुरु हुन लागेको हो ।

दमक गोल्डकप आगामी बैशाख १९ देखि २८ गतेसम्म सञ्चालन हुने बिहिवार आयोजित दमक नगरपालिकाको दोस्रो नगर सभामा जानकारी दिइयो । दमक नगरपालिका अन्तर्गतको नगर खेलकुद विकास समितिको आयोजनामा गोल्डकप हुन लागेको हो । गोल्डकपमा मोफसलकै सर्वाधिक पुरस्कार राशी राखिएको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईका अनुसार गोल्डकपमा प्रथम पुरस्कार नगद १३ लाख ५१ हजार तथा दोस्रो पुरस्कार नगद ६ लाख रुपैया राखिएको छ । प्रतियोगितामा आयोजक, भारत र भुटानको एक/एक तथा ‘ए’ डिभिजन मान्यता प्राप्त ७ गरी १० वटा टोलीको सहभागीता रहने प्रसाईले जानकारी दिनुभयो ।

गोल्डकपमा आयोजक, भुटान ११, भारत कोलकात्ताको महोमदन स्पोर्टिङ क्लब, रमपम झापा ११, मनाङ मस्र्याङदी क्लब, रुस्लान थ्रीस्टार क्लब, विभागीय टिमहरु त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ र सरस्वती क्लब सहभागी हुने गोल्डकप आयोजक मूलसमिति संयोजक भीमराज चम्लागाईले जानकारी दिनुभयो । प्रतियोगिताका सबै खेलहरु दमक ९ स्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछन् ।

प्रकाशित मिति: २९ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्