सरकारले कर्मचारीलाई भन्यो सामाजिक सन्जालमा जथाभावी नलेख्नुस्


 


काठमाडौं, भदाै २२

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालले सरकारी कर्मचारीलाई सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा जथाभावी पोस्ट नगर्न एवं लाइक, सेयर, ट्विट, रिट्विट गर्दा विचार पुर्‍याउन निर्देशन दिएको छ। मुलुकका विभिन्न भागमा भइरहेका बन्द हड्तालका विषयमा सामाजिक सञ्जालमा सद्‌भाव खलबलिने एव‌ं जात, जाति, धर्म संस्कृतिको मूल्य मान्यतामा अाँच अाउने किसिमका समग्री सम्प्रेषण हुने गरेको ठहर गर्दै सरकारले राष्ट्र सेवक कर्मचारीहरुलाई सचेत रहन निर्देशन दिएको हो।

सामाजिक सञ्जालमार्फत सद्‌भाव खलबल्याउने कार्यमा राष्ट्रसेवक कर्मचारी पनि संलग्न भएको पाइएको भन्दै सरकारले कर्मचारीलाई त्यस्ता सामग्री लाइक, सेयर, ट्याग, ट्विट, रिट्विट नगर्न सोमबार विज्ञप्ति जारी गर्दै अाह्वान गरेको हो। यो निर्देशन निजामती कर्मचारीहरुका लागि मात्र नभई सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुका लागि भएको मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

गृहमन्त्रालयको अनुरोधमा प्रधानमन्त्री कार्यालयले यस्तो सूचना निकालेको हो । गृहले सूचना निकाल्दा सबैलाई समेट्न वैधानिक अड्चन हुने देखिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाटै यस्तो कदम चालिएको स्रोतले बतायो।

निर्देशन उल्लंघन गर्नेलाई आ-आफ्नै सेवा ऐन तथा नियमावलीअनुसार कारवाही गर्ने तयारी सरकारले गरेको छ।

प्रकाशित मिति: २२ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्