मिक्लाजुङ गाउँपालिकामा ३७० वटा योजना सञ्चालनमा



मोरङ, जेठ ६

मोरङको मिक्लाजुङ गाउँपालिकामा चालु आर्थिक वर्षमा ३७० वटा योजना छनोट परी सञ्चालन भएका छन् ।  गाउँपालिका कार्यालयले आज आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा अध्यक्ष देवीप्रसाद आचार्यले सो जानकारी दिनुभयो । गाउँपालिकाका ९ वटै वडाबाट आएका मध्ये ३७० वटा योजना छनोट भएर सञ्चालन भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाका ४ वटा वडालाई ६० लाख र ५ वटा वडालाई ५२ लाख रुपैया बजेट पनि वितरण गरिएको छ । गाउँपालिकाको कुल ३० करोड १८ लाख ६७ हजार बजेट मध्ये बैशाख मसान्त सम्म ६६ प्रतिशत खर्च भईसकेको बताउनु हुँदै अध्यक्ष आचार्यले गाउँपालिकाले आगामी साउन १ गतेदेखी एकिकृत सम्पती कर पनि लागु गर्ने जानकारी दिनुभयो ।

अध्यक्ष आचार्यले चालु आर्थिक वर्षमा राम्री खोलामा कल्भर्ट निर्माण, विकाश निर्माणको कामका लागि ब्याक होड लोडर खरिद, खोलाको तटबन्धनका लागि तारजाली खरिद, वडा नम्बर २,४,५ र ८ को कार्यालय भवन निर्माणका लागि टेण्डर आह्वान समेत भईसकेको बताउनुभयो । उहाँका अनुसार वडा कार्यालय भवन निर्माणका लागि प्रत्येक वडालाई रु ५० लाख बजेट छुट्याईएको छ ।

मधुमल्ला – आईतबारे सडक र मधुमल्ला–धानखेती–बेलटार–चौतारा सडकको बृहृत परियोजना प्रस्ताव (डिपिआर) तयार गरिनुका साथै गाउँपालिका स्तरीय भू–उपयोग योजना र खोलाहरुको प्रारिम्भिक वातावरणीय परीक्षण (आईईई) तयार गरिने काम भईरहेको समेत गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो ।

मिक्लाजुङ गाउँपालिकाको विकाशका लागि पर्यटन विकाश गुरुयोजना समेत तयार भईरहेको उहाँले बताउनुभयो । सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीहरुले बसपार्क निर्माण, सवारी दुर्घटनाको जोखिम, बाढीपिडितलाई राहात नदिईएको, हाटबजार व्यवस्थित नबनाएको, दिगो खोला तटबन्धन नभएको, खेलकुद र अपांगता भएका ब्यक्तिहरुका लागि बजेट निकाशा नगरिएको लगायतका गुनाशा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News