दमकको अर्नाखाडीमा बिहिवार जात्री पर्व मनाईदै



उर्लाबारी,  जेठ ९
झापाको दमक – ४ स्थित अर्नाखाडीमा बिहिवार धिमाल समुदायको मौलिक पर्व जात्री मनाईदैछ । यसवर्ष जात्री पर्व सुरु भएको एक सय वर्ष पुगेको अवसरमा विशेष उत्साहका साथ जात्री पर्व मनाईने आयोजक अर्नाखाडी गाउँ टोल समितिले जनाएको छ । प्रदेश नम्बर १ का सामाजिक विकाशमन्त्री जिवन घिमिरेको प्रमुख आतिथ्यतामा जात्री पर्व मनाईने भएको सुचना संयोजक सुरज धिमालले जानकारी दिनुभयो ।

कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम, खेल तमसाका साथ ढोल प्रतियोगिता र धिमाल जातिका बिभिन्न खानाका प्रदर्शनी पनि गरिनेछ । सोही अवसरमा अर्नाखाडी टोलको विकाशका लागि योगदान पुर्याउने ब्यक्तित्वलाई सम्मान् गर्ने कार्यक्रम पनि रहेको अध्यक्ष पुजारी धिमालले जानकारी दिनुभयो । धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा बैशाख २ गते मेला लगाएर जात्रीपर्व शुरु हुन्छ । ग्रामथानमा हाँस कुखुरा, सुँगुर लगायतको बलि दिएर दिइन्छ ।

भोगटेनीबाट सुरु भएपछि धिमालका बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ । प्रकृतिपुजक धिमालहरु रोगब्याधी नलागोस्, वाली विरुवा लगाउने वेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामना सहित महाराजथानमा गएर सामुहिक पूजाआजा गर्ने गर्छन् । परापूर्वकालमा धिमालहरुले यि समस्याहरु समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पुरा भएपछि यसलाई निरन्तरता दिदै मनाउदै आएको जनविश्वास छ ।

सिर्जात अर्थात सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगव्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको हो । असार संक्रान्तिसम्म मनाइने यो पर्व धिमालका ९८ वटै टोलहरुमा मनाइने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News