राजविराज विमानस्थलको परीक्षण उडान सफल



राजविराज, जेठ ९
विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलमा एक दशकपछि हवाइ जहाजको परीक्षण उडान गरिएको छ । बीचबीचमा उडान भइरहने यस विमानस्थलमा पक्की रन–वे निर्माण भएपछि पहिलो पटक ५० सिट क्षमताको श्री एयरलाइन्सको जहाजले आज सफल परीक्षण उडान गरेको हो । आधा घण्टा विमानस्थलमा बसेको जहाजले विमानस्थलको चारैतिर फन्को लगाएर परीक्षण गरेको विमानस्थलका इन्जिनियर रामएकवाल महतोले बताउनुभयो ।

यसअघि कच्ची धावनमार्ग रहेको विमानस्थलबाट पहाडी जिल्लाका लागि मात्रै जहाज उड्ने गथ्र्यो । तर पछि जहाज उड्न बन्द भएको थियो । २०६४ सालतिर करिब एक महिना तारा एयरले राजविराज–काठमाडौँ उडान भरेपनि त्यसपछि राजविराज विमानस्थलमा विमान उडान अवतरण हुन सकेको थिएन् ।

विमानस्थल रनवे स्तरोन्नतिको काम दुई वर्ष अघिदेखि शुरु भएर एक महिना अगाडि सम्पन्न भएको हो । विमानस्थलको बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विधिवत् उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महतोले तत्काल श्री एयरलायन्सले राजविराज–काठमाडौँ उडान भर्ने मौखिक सहमति भएको बताउनुभयो । यद्यपि नियमित उडानको समय भने निर्धारण हुन नसकेको उहाँको भनाइ छ ।

विमानस्थलमा एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडाईको पक्की धावन मार्ग, ६० मिटर चौडाई र ९० मिटर लामो एप्रोन तथा एक सय दश मिटर लामो र २० मिटर चौडा ट्याक्सी–वे निर्माण सम्पन्न भइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News