बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई
काठमाडौँ, जेठ १८
नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको जारी छलफलमा भाग लिँदै उहाँले झण्डै दुईतिहाइ बहुमतको सरकारले निर्वाचनका बेला घोषणापत्रमा बाँडिएको सपना बजेटसम्म आइपुग्दा मरेको भनी आलोचना गर्नुभयो ।
यो बजेट सामान्य अवस्थामा नआएको भन्दै सांसद डा भट्टराईले नयाँ युगमा नेपाल कसरी अघि बढ्छ भन्ने आधार हो भन्नुभयो । यो बजेट भिन्न परिवेशमा आएको भन्दै उहाँले भन्नुभयो, “मुलुकमा आर्थिक समृद्धिले फड्को मारोस् भन्ने सबैको आकांक्षा छ ।”
अर्थमन्त्री विज्ञ भएकाले सबैले बजेटमा धेरै अपेक्षा गर्नु स्वाभाविक भएको भन्दै उहाँले भन्नुभयो, “बजेटमा कतिपय राम्रा पक्ष पनि छन्, प्रधानमन्त्री रोजगार कार्यक्रम, शैक्षिक प्रमाणपत्रका आधार ऋण प्रदान गर्नेलगायतका केही कार्यक्रम प्रशंनीय छन् ।”
प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ उद्धृत गर्दै सांसद भट्टराईले बजेट दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुुनुपर्ने तर सामान्य गाडी चलेजस्तो आएको भनी टिप्पणी गर्नुभयो । रासस
प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार












