विश्वकपमा ब्राजिल स्वीट्जरल्याण्डसँग बराबरीमा रोकियो


 


एजेन्सी, असार ४

विश्वकपको दाबेदार मानिएको ब्राजिल रसिया विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको छ । प्रत्येक विश्वकपमा सहभागिता जनाउँदै आएको ब्राजिल स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको हो ।

नेपाली समय अनुसार मध्यरातमा रसियाको रोस्तोभ एरिनामा भएको खेलमा ब्राजिलले स्वीजरल्याण्डसँग एक–एक गोलको बराबरी खेलेको छ । हरेक विश्वकपमा सहभागिता जनाउँदै आएको ब्राजिल सन् १९७८ पछि पहिलोपटक विश्वकपको आफ्नो पहिलो खेलमा जित हात पार्न असफल भएको हो ।

पाँच पटकको च्याम्पियन ब्राजिलले खेलको पहिलो हाफमा नै अग्रता लिएको थियो । खेलको २० औं मिनेटमै फिलिप कोटिन्होको गोलमा ब्राजिलले अग्रता लिएपनि ५० औं मिनेटमा स्वीट्जरल्याण्डका स्टेभेन जुबेरले कर्नरबाट आएको बललाई हेडरमार्फत गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । खेलमा ब्राजिलले तीन अंक जित्ने प्रयास गरेपनि उसको लक्ष्यमा स्वीट्जरल्याण्डका गोलकिपर र डिफेन्डर बाधक बने ।

यस्तै विश्वकप फुटबल २०१८ को दाबेदार मानिएको जर्मनी मेक्सिकोसँग एक—शून्यले पराजित भएको छ । समूह एफ अन्तरगतको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकोले स्तब्ध पारेको छ ।

मेक्सिकोका लागि हिर्विङ लोजानोले ३५ औँ मिनेटमा गोल गरे । विश्वकपमा प्रतियोगितामा मेक्सिकोले जर्मनीलाई पहिलो पटक हराउँदै इतिहास रचेको छ । जर्मनी सन् १९८२ यता विश्वकपको पहिलो खेलमा पहिलो पल्ट हारेको छ । जर्मनीले थुप्रै पटक गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । समूह एफमा दक्षिण कोरिया र स्वीडेनका साथै मेक्सिको र जर्मनी रहेका छन् ।

प्रकाशित मिति: ४ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्