विश्वकप फुटबलमा ब्राजिलको पहिलो जित


 


काठमाडौं, असार ८

रसियामा जारी विश्वकप फुटबलमा उपाधी दाबेदार मानिएको ब्राजिलले पहिलो जित दर्ता गरेको छ । निर्धारित ९० मिनेटको समय सकिएपछि थप गरिएको इन्ज्यूरी समयमा २ गोल गर्दै ब्राजिलले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

ब्राजिलका लागि कौटिन्हो र नेइमारले १/१ गोल गरे । यसअघी गोलरक्षक केइलर नाभासले उत्कृष्ट प्रदर्शन गरेपछि कोष्टारिकाले ब्राजिललाई ९० मिनेट सम्म गोलरहित बराबरीमा रोक्न सफल भएको थियो ।

लगातार दोस्रो हारसँगै कोष्टारिका प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा कोष्टारिका सर्बियासँग पराजित भएको थियो । पहिलो खेलमा स्विटजरल्याण्डसँग बराबरी खेलेको ब्राजिलले आजको जितसँगै ४ अंक जोड्दै दोस्रो चरण प्रबेश गर्ने संभावना बलियो बनाएको छ ।

बिश्वकप फुटबलन्तर्गत आजको दोस्रो खेलमा नाईजेरिया र आईसल्याण्ड भिड्नेछन् । यो खेल भोल्गोग्राद एरिनामा वेलुकी पौने ९ वजे सुरु हुनेछ ।

पहिलो खेलमा क्रोएसियासँग हारेको नाईजेरिया र अर्जेन्टिनासँग बराबरीमा रोकिएको आईसल्याण्ड समुहबाट दोस्रो चरणमा पुग्न आज जित्नैपर्ने दबाबमा छन् । आजै हुने तेस्रो खेलमा सर्विया र स्विट्जरल्याण्ड भिड्नेछन् । यो खेल कालिनिन्ग्राद रंगशालामा राती पौने १२ वजे सुरु हुनेछ ।

सर्वियाले पहिलो खेलमा कोष्टा रिकालाई हराएको थियो भने स्विट्जरल्याण्डले ब्राजिललाई बराबरीमा रोकेको थियो ।

प्रकाशित मिति: ८ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्