विश्वकप फुटबलमा लिग चरणका खेल सकिँदै


 


काठमाडौं, असार १४

विश्वकप फुटबलमा आजबाट लिग चरणका खेल सकिंदैछन् । आज समूह जी र एच. का चार खेल भएपछि समूह चरणबाट राउन्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ ।

आज बेलुकी पौने ७ बजे समूह एच का दुई खेल हुनेछन् । भोल्गोग्राद एरिनामा जापान र पोल्यान्ड भिड्दा सामरा एरिनामा सेनेगलले कोलम्बियासँग खेल्नेछ । यो समूहका सुरुवाती दुई खेलबाट ४ अंक जोडेको जापान शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको सेनेगलको पनि ४ अंक नै छ । ३ अंक जोडेको कोलम्बिया पनि अर्काे चरणमा उक्लिने होडमा छ । पोल्यान्ड भने बाहिरिइसकेको छ ।

अर्काे चरणमा पुग्न जापान र सेनेगलका लागि आजको खेल बराबरी गरे पुग्छ भने कोलम्बियालाई जित्नैपर्ने दबाब छ । आजै राति पौने १२ बजे समूह जी का दुई खेल हुनेछन् । कालिनिन्ग्राद रंगशालामा बेल्जियम र इङ्ल्यान्ड भिड्दा मोरदोभिया एरिनामा ट्युनिसियाले पानामाको सामना गर्नेछ । समूहबाट बेल्जियम र इङ्ल्यान्ड अर्काे चरणमा प्रवेश गरिसकेका छन् । दुई टोलीबीच आज हुने भिडन्तले समूह विजेताको टुंगो लगाउनेछ ।

प्रकाशित मिति: १४ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्