सरकारको निषेधाज्ञाको निर्णयमा सर्वोच्चको अवरोध, दियो यस्तो आदेश



काठमाडौं, असार ३२
सर्वोच्च अदालतले माइतीघर मण्डललगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले आज सरकारले निषेधाज्ञा जारी गर्नु कानूनसम्मत नदेखिएको हुँदा अर्को आदेश नभएसम्मलाई सो आदेशलाई निरन्तरता दिएको हो ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले यही असार २९ गते अल्पकालीन अन्तरिम आदेशका विषयमा दुवै पक्षलाई छलफलमा बोलाएर आजका लागि सरकारको निषेधाज्ञासम्बन्धी फाइल मगाउने आदेश गरेको थियो ।

सरकारले केही स्थानमा निषेधाज्ञा जारी गरेर अभिव्यक्ति स्वतन्त्रतामाथि रोक लगाएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दायर गर्नुभएको थियो ।

काठमाडौँ जिल्लाको सुरक्षालाई ध्यानमा राखेर सरकारले शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन, सिंहदरबार, उपराष्ट्रपति निवास र काठमाडौँ महानगरपालिकाका विभिन्न स्थानमा सभा, जुलुस वा प्रदर्शनमा रोक लगाउने निर्णय गरेको थियो ।

सो स्थानको विकल्पमा सरकारले विरोध प्रदर्शनका लागि खुलामञ्च, तीनकुने खुला चौर, कोटेश्वर, भुइँखेल चौर, भगवान् पाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याण परिषद् अगाडिको खुला चौर र गौशालास्थित सिफल चौरलाई तोकेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News