नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने



काठमाडौँ, साउन १

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ ।

एकतापछि गठित नेकपाको विधानमा गरिएको यस्तो व्यवस्थाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आगामी महाधिवेशनमा भाग लिन सदस्यता रहेको भूगोलबाट प्रतिनिधि निर्वाचित हुनुपर्ने भएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भएपछि बनेको केन्द्रीय कमिटीका ४४१ सदस्य तथा मातहतका प्रदेश, जिल्ला कार्यसमितिका सदस्यले सम्बन्धित कमिटीमा रहेका संगठित सदस्यबीच प्रतिष्पर्धा गरी प्रतिनिधि निर्वाचित हुनुपर्ने छ । विगतमा एमालेले प्रतिनिधि निर्वाचन (चयन)को प्रणाली अभ्यास गर्दै आए पनि माओवादी केन्द्रमा आवधिक र नियमित महाधिवेशन/अधिवेशन नभएकाले यस्तो अभ्यासको कार्यान्वयन भएको थिएन ।

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सम्पादनका क्रममा रहेको पार्टीको विधानलाई आज बसेको सचिवालयको छैटौँ बैठकले प्रकाशन गर्न अनुमति दिएकाले अब चाँडै विधान र नियमावली सार्वजनिक हुनेछ भन्दै सबै महाधिवेशन/अधिवेशनमा निर्वाचित प्रतिनिधिले मात्र भाग लिन पाउने व्यवस्था गरिएको बताउनुभयो ।

एकतापछिको पहिलो महाधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन गर्ने आन्तरिक समझदारी शीर्ष नेताबीच भएको बताइए पनि प्रतिनिधि चयनमा पराजित भएमा ती नेताले महाधिवेशनमा चुन्न र चुनिन पाउने छैनन् ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले पारित विधान र नियमावलीलाई प्रकाशन गर्ने र आधारभूत तहसम्मको एकतालाई एकता घोषणामा उल्लेख भएको अवधि तीन महिना ९आगामी भदौ ३० भित्र पूरा गरिसक्ने गरी काम हुने महासचिव पौडेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News