काँग्रेसले साउन १५ गते विरोध सभा गर्ने


 


काठमाडौँ, साउन १

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्र र प्रदेश सरकारका जनविरोधी क्रियाकलापविरुद्ध यही साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको छ ।

काँग्रेस महामन्त्री डा शशांक कोइरालाले आज एक विज्ञप्तिमार्फत उक्त विरोध सभाका लागि पार्टीका जिल्ला समितिहरुलाई निर्देशन दिँदै भ्रातृ एवं शुभेच्छुक संस्था र पार्टीका सबै इकाईलाई समेत सहभागी हुन आह्वान गर्नुभएको छ ।

उहाँले सरकार मनोमानी ढंगबाट सञ्चालन गर्न उद्यत रहेको उल्लेख गर्दै सत्ता पक्षले संघीय संसद् र प्रदेश सभाका सभामुख र उपसभामुख अलग–अलग दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको उल्लंघन गरेको आरोप लगाउनुभयो ।

महामन्त्री डा कोइरालाले सरकारमा संघीय व्यवस्थाको भावना विपरीत अधिकारको केन्द्रीकरण गर्ने, शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायलयप्रति आक्रामक रुपमा प्रस्तुत हुने, संवैधानिक निकायलाई कार्यकारीको छायाँमा राख्ने जस्ता प्रवृत्ति प्रकट भएको बताउनुभएको छ ।

सरकार र पार्टी एकै जस्तो गरेर सञ्चालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरुलाई व्यावसायिक रुपमा सञ्चालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिबद्धताका आधारमा चलाउने प्रवृत्ति स्पष्ट रुपमा प्रकट भएको महामन्त्री डा कोइरालाको भनाइ छ । रासस

प्रकाशित मिति: १ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्