नगरप्रमुख सुब्बाप्रति श्रद्धाञ्जलि


 


इटहरी, साउन ५

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाजस्ता निष्ठावान् एवं कर्तव्यनिष्ठ योद्धा नेकपाले गुमाउनुपर्दा पार्टीलाई अपूरणीय क्षति हुनुका साथै धरानवासी र परिवारलाईसमेत ठूलो क्षति भएको बताउनुभएको छ ।

उपप्रधानमन्त्री पोख्रेलले धरान उपमहानगरपालिकाका प्रमुख स्व सुब्बाको धरानस्थित पब्लिक माविको खेलमैदानमा राखिएको पार्थिव शरीरमा आज नेपालको राष्ट्रिय झण्डासहित पार्टीको झण्डा ओढाएर उहाँप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्दै उक्त कुरा बताउनुभएको हो ।

धरान उपमहानगरको विकासमा प्रमुख सुब्बाले देख्नुभएको विकासका थुप्रै सपना अधुरै छोडेर जानुभएकाले सबै अधुरा सपना धरानवासीले मिलेर पूरा गर्नु नै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि र सम्झना हुने उपप्रधानमन्त्री पोख्र्रेलले उक्त श्रद्धाञ्जलि सभामा व्यक्त गर्नुभयो । उहाँजस्तो होनहार र कर्तव्यप्रति निष्ठापूर्वक लाग्ने मानिस गुमाउनु पर्दा सबैलाई पीडाबोध हुनु स्वाभाविक हो भन्दै उहाँले अहिले तारा सुब्बाको निधनको खबरले सबैमा त्यस्तै पीडाबोध भइरहेको छ भन्नुभयो ।

उक्त अवसरमा प्रदेश नं १का मुख्यमन्त्री शेरधन राई, पूर्वमन्त्री एवं नेकपाका नेता भीम आचार्य, प्रदेश नं १का सभामुख प्रदीपकुमार भण्डारी मन्त्रीगण अन्य उच्च पदस्थ कर्मचारी एवं नेपाली काँग्रेसका नेता एवं सांसद तथा अन्य सर्वसाधारणले समेत स्व सुब्बाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । रासस

प्रकाशित मिति: ५ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्