डा केसीको नाममा राजनीति नगर्न काँग्रेसलाई सुझाव



विराटनगर, साउन ८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीको अनशनको नाममा राजनीतिकरण नगर्न नेपाली काँग्रेसलाई सुझाव दिनुभएको छ ।

विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “स्वास्थ्य शिक्षा अध्यादेशमा रहेका त्रुटि सच्याउन सरकार प्रतिवद्ध छ ।”

मन्त्री पोखरेलले शिक्षण अस्पताल खोल्न रोक लगाउनु समस्याको समाधान होइन भन्दै मापदण्ड पूरा गरेका शिक्षण अस्पताललाई सम्बन्धन दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

विगतको सरकारले ल्याएको स्वास्थ्य अध्यादेशमा केही परिस्कृत गरी ल्याउन लागेको विधेयकलाई संसद्मा छलफल गरी पारित गर्नु नै लोकतान्त्रिक पद्धति भएको उल्लेख गर्दै उहाँले वर्तमान सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले ५० शय्या बराबर एक विद्यार्थी अध्यापन गर्ने स्वास्थ्य शिक्षण संस्थालाई पठनपाठन गर्न अनुमति दिनुपर्छ भन्दै डा केसीको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गराउन उहाँलाई जुम्लाबाट काठमाडौ ल्याएको बताउनुभयो । डा केसीको उपचारस्थललाई अनशनको थलो नबनाउन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News