‘डा केसीका कारण स्वास्थ्यसम्बन्धी मौलिक हकको हनन’


 


बैतडी, साउन ८

डा गोविन्द केसीको अनशनले जनताको स्वास्थ्य सेवा पाउने मौलिक हक हनन भएको भन्दै अनेरास्ववियू र युवा संघ नेपाल बैतडीले आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

अखिलका जिल्ला अध्यक्ष भुवन कार्की र युवा संघका जिल्ला अध्यक्ष राजेन्द्र चन्दले डा केसीको अनशनका कारण देशभरका स्वास्थ्य संस्थाका स्वास्थ्य सेवा अवरुद्ध भइरहेको भन्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनु भएको हो ।

ज्ञापनपत्रमा चिकित्सा क्षेत्रको सुधारका नाममा पटकपटक अनशन बस्दै आउनुभएका डा केसीका कारण नागरिकको स्वास्थ्य सेवा पाउने संवैधानिक हक हनन् भएको र स्वास्थ्य जस्तो अतिसंवेदनशील क्षेत्रमा राजनीतिकरण भएको आरोप लगाइएको छ ।

ज्ञापनपत्रमा अनशनकै कारण केही बिरामीहरुले समयमै उपचार नपाएर ज्यान समेत गुमाउनु परेकाले यस्ता गतिविधि बन्द गरी निर्बाध स्वास्थ्य संस्था सञ्चालन गर्न माग गरिएको छ ।

प्रकाशित मिति: ८ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्