तीनखम्बे अर्थनीतिका आधारमा मुलुकलाई समृद्ध बनाउनेः मन्त्री विष्ट



विराटनगर, साउन १६

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले ल्याएको तीनखम्बे अर्थनीतिका आधारमा टेकेर मुलुकलाई समृद्ध बनाउने बताउनुभएको छ ।

जिल्ला सहकारी संघ मोरङद्वारा विराटनगरमा आज आयोजित ‘सहकारीमार्फत रोजगारी सिर्जना’ विषयक प्रदेश नं १ स्तरीय अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सार्वजनिक, निजी तथा सहकारीको साझेदारीमा मुलुकलाई समृद्ध बनाउने बताउनुभएको हो ।

मन्त्री विष्टले धेरै ठूलो जनसंख्या आबद्ध रहेका सहकारीको समस्या समाधान गरी थप व्यवस्थित बनाउन सरकारले आवश्य छलफल गरिरहेको चर्चा गर्दै सहकारीलाई बलियो बनाउनका लागि यसमा पारदर्शी र विश्वशनीयता आवश्यक छ भन्नुभयो ।

काम र जनशक्तिको तारतम्य नमिलेको अवस्थामा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको र यसको माध्यमबाट वर्षेनी करीब पाँच लाख युवालाई रोजगार प्रदान गर्ने बताउँदै उहाँले नेपाललाई आत्मनिर्भर बनाउन सबै सम्भावनाको उच्चतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री विष्टले व्यापार घाटा कम गर्न तथा रोजगार सिर्जना गर्नका लागि कृषिमा आत्मनिर्भर बन्नुपर्छ भन्दै छरिएर रहेका पूँजीलाई एकीकृत गर्न सहकारीको महत्व निकै छ बताउनुभयो ।

रोजगारी सिर्जना गर्न चुनौती रहे पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले छोटो समयमै कार्य क्षमता बढाउन र रोजगारीको अवसर सिर्जना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उहाँले सहकारी सदस्यले उठाएको समस्या समाधान गर्न सरकार गम्भीर छ भन्नुभयो ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले तीन तहको ऐनको अभ्यास भइरहेको हाम्रो मुलुकमा श्रम ऐन पनि परिमार्जन हुने बताउँदै तीनखम्बे नीतिका आधारमा सहकारीले ऋण र बचतमा मात्र सीमित नभई उत्पादनतर्फ पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य महेश रेग्मीले सहकारीको महत्वमाथि प्रकाश पार्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News