प्रदेश १ बन्दका कारण जनजीवन प्रभावित


 


मोरङ, साउन २२

पूर्वमा क्रियाशील चार राजनीतिक दलले आह्वान गरेको प्रदेश १ बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।  बन्दका कारण यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । बन्दको प्रभाव प्रदेश १ का पहाडी जिल्ला धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभामा बढी मात्रामा परेको छ ।

सुनसरी, मोरङ, झापा, इलाम, भोजपुर, सोलुखुम्बु, उदयपुर, खोटाङ र ओखलढुंगामा कम मात्रामा परेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी कृष्ण प्रसाईले जानकारी दिनुभयो । बन्दका कारण धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभामा लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् । अन्य जिल्लामा लामो दूरीका सवारी साधन चलेपनि छोटो दूरीका सवारी साधन कम मात्रामा सञ्चालनमा आएको डिएसपी प्रसाईले जानकारी दिनुभयो ।

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्वुवान पार्टी, लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टी र कोचिला एकता पार्टीले बन्द आयोजना गरेको हुुन् । वि.सं. १८३१ साउन २२ गते गोरखा सरकार र लिम्बुवान सरकारबीच भएको सन्धिलाई कालो दिनको रुपमा स्मरण गर्दै २०६६ देखि हरेक वर्ष साउन २२ गते बन्द गर्दै आएको छ ।

बन्दमा लिम्बुवान जनता पार्टी, खम्बुवान राष्ट्रिय मञ्च, लिम्वुवान मुक्ति मोर्चा संघीयवादी, संघीय खम्वुवान लोकतान्त्रिक पार्टी, लिम्वबवान क्रान्तिकारी पार्टी, खम्बुवान मुक्ति मोर्चा र लिम्बुवान प्रान्तीय राष्ट्रिय मञ्चले ऐक्यवद्धता जनाएका छन् । उनीहरुले एकीकरणको समयमा लिम्बुवानी जनतासँग भएको सम्झौता कार्यान्वयन नभएकाले बन्द गर्नु परेको राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य लोक आङलाले बताउनुभयो ।

प्रकाशित मिति: २२ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्