गरिखान गाह्रो छैन: घरको बरण्डामै चाउमिन पसल


 


लक्ष्मी रावत
धनगढी, भदौ १
कतिपय मानिसहरु जागिर पाएनौंं, राज्यले रोजगार दिन सकेन, के गरेर खानेलगायतका बाहाना बनाउँदै बस्छन् । यसको विकल्पमा मानिसहरु विदेश नै रोज्न पछि पर्दैनन् । कतिपय विदेश गएर भनेअनुसार काम नपाएर धोका खाइरहेका छन् भने कोही नराम्रोसंग भुमरिमा भसिरहेका छन् ।

केही समयअघि यसरी नै काम नपाएर तड्पिएकी थिइन् धनगढी उपमहागनरपालिका वडा नम्बर ७ मनेहरा सुकुम्बासी शिविरकी संगम चौधरी पनि । तर, उनले विदशिने सपना भने देखिनन्, बरु आफ्नो घरमै सानो लगानीमा सुरु गरिन चाउमिन पकाएर बेच्न ।

पाँच महिना अघि पाँच सय रुपैयाँको चाउमिन किनेर घरको बराण्डामै चाउमिन पकाएर बेच्न सुरु गरेकी संगमको अहिले राम्रै कमाई छ । श्रीमानकै भरमा सात जनाको परिवार पाल्न धौ–धौ भएपछि उनले निकै सानो रकममा चाउमिन पसल सुरु गर्ने सोच गरिन् र सुरु पनि गरिन् घरको बरण्डामै चुल्हो थापेर चाउमिन पकाएर बेच्न ।

घरको बराण्डामै चाउमिन पकाएर बेच्न सुरु गरेपछि उनले विस्तारै चाउचाउ, नम्किन, ट्वाफीलगायतका सामान पनि जोडेर बेच्न थालिन् । पाँच सय रुपैयाँमा केही प्याकेट चाउमिन किनेर बेच्न सुरु गरेकी संगमले अहिले दैनिक पाँच सय रुपैयाँसम्म बचत गर्न सफल भएकी छन् । ‘अहिले राम्रै कमाई हुन्छ, पाँचसय रुपैयाँसम्म पनि दैनिक कमाई हुने गरेको छ’ उनले भनिन् ‘मासिक १० हजार भन्दा बढी नै फाइदा हुन्छ, केही काम नगरेर बसिरहेको भए कसैले आएर पैसा दिदैन थियो होला यति रुपैयाँ ।’

उनको परिवारमा एक बाजे ससुरा, सासु ससुरा, नन्द, श्रीमान र दुई वर्षको छोरासहित सात जनाको परिवार छ । पहिले श्रीमानको कमाईमा मात्रै आश्रित रहेको उनको सात जनाको परिवारमा अहिले आर्थिक उपार्जन हुने अर्को स्रोत थपिएको छ । उनको श्रीमान धनगढी बजारमै भाडा पसलमा काम गर्छन् । श्रीमानको थोरै कमाईले परिवार पाल्न धौ–धौ भइरहेको अवस्थामा घरमै चाउमिन पसल सञ्चालन गर्ने जुक्ति निकालेपछि भने फर्केर हेर्नुपरेको छैन संगमलाई ।

यसअघि अरुको खेत अदिया बनाएर खाने संगमको परिवारलाई अहिले आफै आर्थिक उपार्जन हुने बाटो पहिल्याएपछि सहज पनि भएको छ । ‘पसल सञ्चालन गर्नुभन्दा पहिले खानकै लागि केही गर्नुपर्छ भनेर अरुको खेत अदिया गरिन्थ्यो, परिश्रमको आधार फल जग्गाधनीलाई दिइन्थ्यो दुःख थियो’ उनले खुशी महशुस गर्दै भनिन्, ‘अब अहिले आफ्नै घरमा सानो लगानीले पसल सञ्चालन गरेपछि हाईसञ्चो भएको छ, परिवारको पालनपोषण गर्न सहज भएको छ ।’

संगमको दुई वर्षको छोरा पनि छ । यसअघि सानो दुधे बालकसंगै खेतीपातीको काम गर्न उनलाई कम्ती दुःख थिएन । तर, अहिले आफ्नै घरमै पसल पनि सञ्चालन गरेकी छन् भने छोरासंगै घरपरिवारको पनि रेखदेख भएको छ । घरमा चाहिने नुन, तेल, तरकारीलगायतको जोहो गर्न अप्ठेरो छैन अहिले । घरमै पसल खोले पनि ग्राहकहरु आइरहेका छन् । कारोबार राम्रै भइरहेको छ ।

संगमले अहिले चाउमिनसंगै ब्रेड, चाटलगायतका परिकार पनि बेच्न सुरु गरेकी छन् । उनलाई अब सानो लगानीले पनि राम्रै आम्दानी गर्न सकिन्छ भन्ने विश्वास पलाएको छ । श्रीमानको कमाईले केही हुँदैन भनेर चाउमिन पसल सुरु गरेकी संगम अहिले आफ्नो सानो लगानीले दिइरहेको प्रतिफलले खुशी हुन्छिन् ।

उनलाई आफ्नो काम बाहेकको समयमा उनका श्रीमानले पनि सहयोग गरिरहेका छन् । साथै सासु ससुराको पनि उत्तिकै सहयाोग छ । उनको यो उदाहरणीय कामले सानो लगानीबाट पनि अगाडि बढ्न सकिन्छ भन्ने पाठ सिकाएको छ ।

प्रकाशित मिति: १ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्