करवृद्धिको विरोध गर्दै काँग्रेसको ज्ञापन पत्र


 


सुनसरी, भदौँ ३

नेपाली कांग्रेस सनुसरीको धरान उपमहानगर कार्यसमितिले धरानमा भएको करवृद्धिको विरोध गर्दै आज ज्ञापन पत्र बुझाएको छ ।
धरान उपमहानगरपालिकाको मुख्य प्रवेशद्वार अगाडी नेपाली कांग्रेस धरानका सभापति तिलक राईले धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीलाई ज्ञापन पत्र बुझाउनु भएको हो ।

ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेस धरानले माग पुरा गर्न १० दिने अल्टिमेटम समेत दिएको छ । ज्ञापन–पत्रमा ‘लामो १० दिन भित्रमा वृद्धि गरिएको करको बारेमा सम्बोधन नगरे त्यसपछि हुने आन्दोलनले पार्ने परिस्थितिको जिम्मेवार समेत नगरपालिकाको नेतृत्व हुनुपर्ने जनाएको छ ।

लामो समयपछि निर्वाचित भएर आएका जनप्रतिनिधीले विकास र सेवामा ध्यान केन्द्रित गर्नुपर्नेमा उनीहरु आफ्नो सेवा सुविधामा मात्र ध्यान केन्द्रीत गरेको’ भन्दै त्यसको विरोध गरिएको छ । ऐनले नै निःशुल्क गर्नुपर्ने भनेर किटान गरेको जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, सम्बन्ध विच्छेद र बसाई सराईमा समेत कर लिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यस्तै धरान उपमहानगरपालिकाको आर्थिक ऐन २०७४ ले व्यवस्था गरेको कर जनतालाई भारी परिरहेको भन्दै त्यसलाई तत्काल खारेज गर्न माग गरिएको छ ।

प्रकाशित मिति: ३ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्