झापाका किसान कागती खेतीतर्फ आकर्षित हुँदै


 


झापा, भदौ ४

पछिल्लो समय झापामा किसान कागती खेतीतर्फ आकर्षित भएका छन् । छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएपछि किसान कागती खेतीतर्फ आकर्षित भएका हुन् ।

अहिले जिल्लाका किसान सहकारी संस्थामार्फत कागती खेती गर्न लागिपरेका छन् । अर्जुनधारा नगरपालिका–९ का ५८ वर्षीय पुष्पप्रसाद रेग्मीले कागती खेतीबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । छ वर्षअघि रेग्मीले दक्षिण भारतबाट प्रतिगोटा रु ५० देखि रु १५० सम्ममा यूरेका, मद्रासी र गुजराती जातका कागतीका बिरुवा ल्याएर कागती खेती शुरु गर्नुभएको हो ।

उहाँले डेढ विघामा कागती खेती गर्नुभएको छ । कागतीको दाना बिक्री गरेर उहाँले मनग्य आम्दानी गर्दै आउनुभएको छ । वर्षमा कागतीले तीन पटकसम्म फल दिन्छ । उहाँले खेती विस्तार गर्ने उद्देश्यले बुद्धशान्ति गाउँपालिका–१ बुधबारेमा सात बिघा जग्गा भाडामा लिनु भएको छ । उक्त जग्गामा रेग्मीले कागतीको बिरुवा उत्पादन गर्न थाल्नु भएको छ ।

मेचीनगर–९ का डिल्लीप्रसाद उप्रेतीले दुई बिघामा कागती खेती गर्नुभएको छ । उहाँले १२ कट्ठाबाट शुरु गरेको कागती खेती दुई बिघामा विस्तार गर्नुभएको छ । नर्सरीसहित कागती खेतीबाट वार्षिक रु २४ लाखसम्म आम्दानी गरेको उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति: ४ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्