जन्मदर्ताकै आधारमा शेयरका लागि आवेदन दिन सक्ने


 


दीपशङ्कर चौलागाई
दोलखा, ७ भदौ
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा २० वर्ष सम्मका किशोर किशोरीलाई जन्मदर्ताकै आधारमा शेयर आवेदन दिन पाउने भएका छन् ।

जन्मदर्ता भएका तर विभिन्न कारणले नागरिकता बनाउन नसकेका १६ देखि २० वर्ष उमेर समूहका किशोर किशोरीले जन्मदर्ता प्रमाण पत्रकै आधारमा आमा वा बाबुलाई संरक्षक राखेर शेयर भर्न पाउने भएका हुन् ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रो पावरले शेयर निष्कासन गर्नु पूर्व नै दोलखावासी भएको परिचय खुल्ने प्रमाण पत्र ९जन्मदर्ता, विवाह दर्ता वा नागरिकता० का आधारमा शेयर आवेदन दिन पाउने सहमति भएको थियो । तर, शेयर आवेदन संकलनका लागि तोकिएका बैङ्कहरुले १६ वर्ष उमेर पुगेकालाई नागरिकता अनिवार्य हुनुपर्ने बताएपछि त्यसमा समस्या आएको थियो ।

सोही कारण जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनेहरुको निकै ठूलो भीड लागेको छ । प्रशासनले दैनिक चार सयदेखि पाँच सयसम्म नागरिकता वितरण गर्दै आएको पनि छ ।

माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जन्मदर्ता भएका र २० वर्ष उमेर ननाघेकाले जन्मदर्ता प्रमाणपत्रकै आधारमा शेयर आवेदन दिनसक्ने बताउनुभयो । उहाँले १६ देखि २० वर्ष उमेर समूहका नागरिकले नागरिकता नभए पनि जन्मदर्ताकै आधारमा बुबा वा आमालाई संरक्षक राखेर नाबालकको रुपमा आवेदन दिनसक्ने जानकारी दिनुभयो ।

माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जन्मदर्ता भएका र २० वर्ष उमेर ननाघेकाले जन्मदर्ता प्रमाणपत्रकै आधारमा शेयर आवेदन दिन सक्नेछ भन्नुभयो ।

आवेदन दिँदा जन्मदर्ता संगै आमा वा बाबुको नागरिकताको प्रतिलिपि पनि राख्नु पर्नेछ । प्रवक्ता डा न्यौपानेसहितको माथिल्लो तामाकोशी आयोजनाका अधिकारीले आज सदरमुकाम चरिकोटस्थित बैङ्कका प्रबन्धक तथा व्यवस्थापकलाई छुट्टाछुट्टै भेट गरी नागरिकता नभएकै कारण शेयर आवेदन भर्नबाट किशोरकिशोरीलाई वञ्चित नगर्न आग्रहसमेत गरेको छ ।

माथिल्लो तामाकोशी आयोजनाले दोलखावासीका लागि छुट्याएको रु एक अर्ब ५ करोड ९० लाख बराबरको शेयर साउन १६ गतेदेखि खुल्ला भएको हो । दोलखावासीले तोकिएको सङ्कलन केन्द्रमा गएर भदौ १४ गतेसम्म आवेदन दिन सक्ने छन् ।

प्रकाशित मिति: ७ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्