नेपाली टोली ढाका प्रस्थान


 


काठमाडौँ, भदौँ १७

यही भदौ १९ गतेदेखि बङ्गलादेशको ढाकामा हुने १०औँ साफ च्याम्पियनसिप फुटबलमा सहभागी हुन ३१ सदस्यीय नेपाली राष्ट्रिय टोलीको आज बिदाइ गरियो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा आज आयोजित कार्यक्रममा ढाका जाने टोलीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बिदाइ गर्नुभयो ।

टोलीमा २० खेलाडी तथा ११ अफिसियल सहभागी छन् । दक्षिण एशियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता भदौ १९ देखि ३० गतेसम्म बङ्गलादेशमा हँुदैछ । बिदाइपछि आजै नेपाली टोली ढाका प्रस्थान गरेको छ ।

प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित बङ्गलादेश, पाकिस्तान र भूटान समूह ‘ए’मा छन् । त्यस्तै भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा छन् । रासस

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्