साफ च्याम्पियनसिप : पाकिस्तानविरुद्ध नेपालको प्रतिस्पर्धा


 


काठमाडौँ, भदौँ १९

साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ । नेपालले दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै टोली अहिलेसम्म साफमा उपाधिविहीन छन् ।

साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपालले हालसम्म खेलेका छ खेलमध्ये दुईमा जित, तीनमा बराबरी र एकमा पराजय भएको थियो । उक्त प्रतियोगितामा नेपाल र पाकिस्तानबीच सन् १९९३ जुलाई १६ मा पाकिस्तानमा भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । सन् १९९५ मार्च २९ मा श्रीलङ्कामा भएको दोस्रो संस्करणमा नेपाल २–० गोलले विजयी भएको थियो ।

सन् १९९७ सेप्टेम्बर ४ मा काठमाडौँमा भएको तेस्रो साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग २–० गोलको पराजित भएको थियो । सन् २००८ जुन ७ मा श्रीलङ्का र माल्दिभ्सले संयुक्तरुपमा आयोजना गरेका सातौँ संस्करमामा नेपाल ४–१ गोलले विजयी भयो । सन् २०११ डिसेम्बर ६ मा भारतमा भएको आठौँ संस्करणमा नेपाल र पाकिस्तान १–१ गोलको बराबरीमा रोकिएको थियो भने सन् २०१३ सेप्टेम्बर ३ मा नेपालमा भएको नवौँ संस्कारणमा १–१ गोलले बराबरी भएको थियो ।

साफ च्याम्पियनसिपमा नेपालले हालसम्म खेलका २८ खेलमध्ये आठमा जित, १६ मा हार, चारमा बराबरीको नजिता निकालेको थियो । साफको २५ वर्षे इतिहासमा छ पटकको प्रतिस्पर्धामा पाकिस्तानसँग एक पटकमात्र पराजय भएको नेपालले आज जित्न सके आगामी चरणको यात्राका लागि सहज हुनेछ । यसअघि भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन । रासस

प्रकाशित मिति: १९ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्