ओली प्रधानमन्त्री, सुशील राष्ट्रपति, महरा सभामुख


 


काठमाडौं, असोज १९

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अवको सरकारको नेतृत्व प्रमुख दलको सहमतिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तरक्रियामा बोल्दै पौडेलले दलहरुबीच विगतमा संविधान बनेपछि एमालेले सरकारको नेतृत्व लिन भएको भद्र सहमतिअनुसार नेपाली काँग्रेसको प्रस्ताव तथा एकीकृत नेकपा माओवादीको समर्थनमा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र राष्ट्रपति नेपाली काँग्रेसका सभापति एवं वर्तमान प्रधानमन्त्री सुशील कोइराला र सभामुख एनेकपा माओवादीका नेता कृष्णबहादुर महरा वा अनू कोही बन्ने भन्ने विषयमा गृहकार्य भइरहेको बताए ।

उपमहासचिव पौडेलले नयाँ संविधानको वैधतामा कसैले पनि प्रश्न उठाउन नसक्ने विचार व्यक्त गर्दै संविधान कार्यान्वयनका लागि देखिएको चुनौति तथा भूकम्पले सिर्जना गरेको समस्या समाधान गरी नव निर्माणमा लाग्न दलहरुकाबीच जीवन्त समन्वय हुन आवश्यक रहेको बताए ।

उनले मधेसमा आन्दोलनरत दललाई वार्ताबाट समाधान खोज्न आग्रह गर्दै संविधान संशोधनका लागि विधि र प्रक्रियाअनुसार पनि अहिलेको सरकारले कार्य पूरा गर्न समय अपुग हुने भएकाले नयाँ सरकारले कार्य गर्ने प्रष्ट पारे ।

प्रकाशित मिति: १९ आश्विन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्