भारतले ४० लाख भारतीय लगाएर नेपाली सीमा घेर्ने धम्की दिएको खुलासा (भिडियो सहित)


 


काठमाडौं, असोज १९

मधेस आन्दोलनका नाममा भारतीय भूमिबाट नेपाली प्रहरीमाथि आक्रमण भइरहेका बेला संविधान जारी गरे ४० लाख भारतीयले नेपाली सीमा घेर्ने धम्की भारतले दिएको खुलासा भएको छ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले संविधान जारी हुनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर आएका एस जयशंकरले यस्तो धम्की दिएको खुलासा गरेका छन् ।

केही दिनअघि एभिन्युज टेलिभिजनलाई बिजुक्छेले दिएको अन्तरवार्तामा उनले जयशंकरले संविधान जारी गरे अवरोध गर्ने धम्की पहिल्यै दिएको खुलासा गरेका हुन् । ‘४० लाख भारतीयलाई लगेर सीमानामा सुताइदिन्छु भनेर जयशंकरले हाम्रा नेताहरुलाई भनेका थिए ।

संविधान जारी नगर्न त्यसरी चेतावनी दिएका थिए । मैले थाहा पाएँ यो कुरा’ बिजुक्छेले भनेका छन्, ‘मैले प्रधानमन्त्रीलाई भनेँ– विदेशीले यस्तो धम्की दिएको कुरा जनताले थाहा पाउनु पर्छ ।

पार्लियामेन्टले थाहा पाउनु पर्छ पार्लियामेन्टमा भन्नुस् भनेँ ।’  टीकापुर घटना पनि भारतीयहरुको योजनामा घटाइएको र घटनाको दुई घन्टाअघि कसैले आफूलाई फोन गरेर जानकारी गराएको बिजुक्छेले वताए ।

‘टीकापुरको घटना हुनु भन्दा २ घन्टा अगाडि मलाई एकजनाले फोन गरेर भनेको थियो, त्यहाँ त्यस्तो घटना घटाइंदैछ’ बिजुक्छेले भने, ‘मैले यो कुरा कांग्रेस र एमालेका नेताहरुलाई भनेँ तपाईंहरुका मान्छे कहाँ छन्, टीकापुरमा त हिंसा हुन सक्ने खबर आएको छ ।’ तराईमा भएको आन्दोलन तराईका जनताको नभएर भारतले गरेको बिजुक्छेले वताए ।

तराईका दलहरुका माग पूरा गरे देश नरहने वताउँदै बिजुक्छेले प्रमुख दलहरुले यस्ता माग सम्बोधन गर्न उचित नहुने कुरा जनतामा गएर जानकारी गराउनु पर्ने अन्तरवार्तामा वताएका छन् । विजुक्छेले संविधान निर्माण अल्मल्याउन नै विजय गच्छदार आउने लोभ देखाएर दलहरुलाई पर्खाएको वताए ।

जयशंकरले भनेको कुरा संसद् मार्फत जनतालाई जानकारी दिन मैले प्रधानमन्त्रीलाई भनेँ  ‘मतदानका दिन मैले एमाले कांग्रेसका नेताहरुलाई सोधेका थिएँ–संविधान बनाउने कि आत्मसमर्पण गर्ने ? उहाँहरुले विजय गच्छदार आउँछन् कि भनेर कुरेको भन्नु भो’ बिजुक्छेले भने, ‘तर, संबिधान निर्माण रोक्नका लागि लागि मात्रै सेटिङ विजय गच्छदारलाई देखाइएको थियो ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्मा आएर बोल्दा अनावश्यक भाउ दिइएको उनले वताएका छन् ।

‘मोदीले यहाँ आएर संसद्मा नेपाल सार्बभौम देश हो भन्दा ताली बजाउनु आवश्यक थियो र ? उनीहरुले सार्बभौम भनेर प्रमाणपत्र दिनु पर्ने हो र ? बुद्ध नेपालमा जन्मेको मोदीले भनिदिनु पर्ने हो र ?’ बिजुक्छेले भने, ‘यो सामान्य कुरा थियो ताली बजाउनु पर्ने कुरा थिएन । मैले भात खाँए भन्दा पनि ताली बजाउनु पर्छ र ?’   तराईको आन्दोलन होइन भारतको आन्दोलन हो, ति माग पूरा गरे, नेपाल रहंदैन  दिल्लीमा १२ बुँदे सहमति हुँदादेखि नै भारतले नेपाललाई आफ्नो संरक्षित देशका रुपमा सोचेको वताए ।

‘१२ बुँदामा भारतीयको मनसाय प्रष्ट थिएन, भरपर्दाे शक्तिको रोहवरमा भन्ने थियो’ उनले भने, ‘तर, त्यसलाई संरक्षकको रुपमा पो लिएछन् । भारतको संरक्षित राज्यको रुपमा पो लिएछन् । नेपाल भारतको संरक्षित राज्य होइन ।’

भारतले दिएको नक्सा र खाका अनुसार संबिधान नबने काले यस्तो गर्‍यो ।  ५ वर्षको सम्झौत ागर्ने हो भने तातोपानीसम्म पाइपमा पेट्रोल ल्याइदिने कुरा चीनले गरेको थियो ।

गिरिजाप्रसादकै पालामा यो कुरा भएपछि भारतले थाहा पायो । त्यसको प्रतिक्रिया त्यति बेतोडेले आउनला भन्ने गिरिजाले पनि थाहा पाउनु भएको थिएन ।

रोहितसंगको अन्तरबार्तामा आधारित: भिडियो हेर्नुहोस्

प्रकाशित मिति: १९ आश्विन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्