सुशीलले उम्मेदवारी दर्ता गरेपछि कांग्रेस सांसद कोही रुँदै कोही कराउँदै


 


काठमाडौं, असोज २३

प्रधानमन्त्रीका लागि सुशील कोइरालाले उम्मेदवारी दिएपछि  कांग्रेस सांसदहरुमा निराशा र आक्रोश देखिएको छ । उनिहरुमा यतिबेला कुनै खुसियाली छैन् ।

कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले  त पदबाट राजिनाम नै दिइसके । उनले पदाधिकारी बैठकमा आधा घण्टासम्म नेताहरुलाई सम्झाउँदै विदेशीको चंगुलमा नफस्न सुझाव दिएका थिए ।

विगतको सहमति भंग नगरौं, भारतले जिताइदिन्छ भन्ने भ्रममा नपरौं भनेर खड्काले धेरै अनुनय पनि गरे । ‘मैले वीपीको पालादेखिका हाम्रा गल्तीका कारण मुलुकले भोगेको दुर्गति सम्झाउँदै प्रधानमन्त्रीको उम्मेदवारी नदिन आग्रह गरेँ, मुलुकको दुर्भाग्य शुरु भयो भनेर रोएँ, तर सुशील दाइले मलाई कुनै जवाफ दिन सक्नुभएन’ खड्काले पत्रकारहरुसँग भने ।

कोइराला बालुवाटारबाट प्रधानमन्त्रीका लागि उम्मेदवारी दिन संसद भवन नयाँ बानेश्वरमा आउनै लागेको सूचना पाएपछि कांग्रेस सांसदहरु ल्होत्से हलमा जम्मा भइसकेका थिए । कांग्रेसका सभासदहरुमा आफ्नो सभापतिले उम्मेदवारी दिन लाग्दा उत्साह भन्दा पनि निराशा र आक्रोश बढी देखिन्थ्यो ।

‘हाम्रा नेताले कांग्रेसलाई मात्र होइन, मुलुकलाई नै सिध्याउने घीनलाग्दो खेल खेले’ केन्द्रीय सदस्य समेत रहेका सांसद बद्री पाण्डेले भने ‘यिनीहरु नालायक प्रमाणित भए’ । भारतले मुलुकमाथि अघोषित नाकाबन्दी लगाएर नेपालको स्वाधिनतामाथि नै धावा बोलिरहेका बेला शीर्ष नेतृत्व भारतको इशारामा चलेको खुलेआम आरोप सांसदहरुले लगाइरहेका थिए ।

‘हिजो भारतले भनेर राजीनामा नदिने, आज भारतले प्रधानमन्त्री बनाइदिने आश्वासन दिएपछि राजिनामा दिएर उम्मेदवारी दर्ता गराउने खेलले हाम्रो शीर झुकेको छ’ सांसद रामहरि खतिवडाले भने ‘अब संसदीय दलको बैठक तुरुन्त बोलाउनुपर्छ ।’

कांग्रेसकै अर्का सांसद राजीवविक्रम शाह आफ्ना नेताहरुले लोकतन्त्र र सहमति शब्दकै धज्जी उडाएको भन्दै आक्रोशित थिए । ‘यतिसम्म फटाहा र देशघाती नेता होलान् भन्ने सोचेको थिइँन’ भर्खरै राजनीतिमा हामफालेर चुनाव जितेका शाहले भने-‘अब कांग्रेसको विश्वसनीयता सकियो ।’

तीन प्रमुख दललाई फुटाउने, भर्खरै जारी भएको संविधान कार्यन्वयनमा समस्या सिर्जना गर्ने र मुलुकलाई झन् ठूलो संकटमा धकेल्ने सुविचारित षडयन्त्रको शिकार कांग्रेस हुन पुगेको कांग्रेसकै नेताहरुले बताए ।

सांसद तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले भने-कांग्रेसको यो निर्णय इतिहासकै सबैभन्दा दुर्भाग्यपूर्ण घटना हो, आफैंले गरेको सहमति विपरीत गएर कांग्रेसले राजनीतिमा नैतिकता र विश्वास भन्ने शब्दकै अपमान गरेको छ ।

प्रकाशित मिति: २३ आश्विन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्