कांग्रेसीको कब्जामा नेपाल टेलिभिजन, सरकारका गतिबिधिको समाचार शून्य


 


काठमाडौँ । नेपालको पहिलो टेलिभिजन अर्थात नेपाल टेलिभिजनमा सरकारले राम्रा काम गरेका विषयमा समाचारको अपेक्षा हुनुलाइ स्वभाविक मानिन्छ तर सबैभन्दा बढी र चर्को स्वरमै त्यहीबाट आलोचना भैरहेको छ । सत्तापक्षको आवजलाई करिब शून्यतामा झारेर प्रतिपक्षको आवजलाईमात्र मुखरित गर्ने काम टेलिभिजनबाट भैरहेको छ भन्दै साँघु साप्ताहिकले एउटा रोचक र खोजमुलक समाचार सामाग्री पस्तुत गरेको छ ।

यस्तो छ साँघुमा प्रकाशित समाचार

सरकारी च्यानल नेपाल टेलिभिजन हेर्नुस् । सरकारकै च्यानलले केपी ओली सरकारको कमीकमजोरी खोजेर प्रहार गर्छ । सरकारी पक्षलाई भन्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका कुरालाई ज्यादा नै स्थान दिन्छ । २०७५ मंसिर २९ गतेदेखि महासमिति बैठक सकिएसम्म एनटीभी हेर्ने दर्शक भने यो सरकारी साधनको यति हदसम्मको कांग्रेसीकरण मीनेन्द्र रिजाल संचारमन्त्री हुँदा पनि थिएन भन्दै छन् ।

महासमिति बैठक शुरु हुनु धेरै दिन पहिलादेखि नै अत्यन्त जोडतोडका साथ टेलिभिजनमा कार्यक्रम र समाचार देखाइएको थियो । म महासमितिको सदस्य भन्दै अर्को महासमिति सदस्यलाई अन्तर्वार्ता गर्ने सन्तोष नेउपानेको चर्तिकला पनि एनटीभीमा देखियो । महासमिति बैठक शुरु भएको दिन २०७५ मंसिर २९ गते त एनटीभीमा १९ मिनेटसम्म कांग्रेसकै बढाइचढाइ गर्न भ्याइ न भ्याइ थियो ।

कांग्रेसबाहेक अरु दलले देश चलाउन सक्दैसक्दैन भनेर कांग्रेसीहरूले बोलेका भनाई हाइलाइट पनि हेर्न लायक थियो । पुरै कार्यक्रमको लाइभको त कुरै भएन । त्यसै दिनमा नेकपाको पनि स्थायी कमिटीको बैठक थियो । तर, टेलिभिजनले प्रवक्ता नारायणकाजी श्रेष्ठको पत्रकार सम्मेलन पनि भेट्टाउन सकेन । कांग्रेसको सरकारतर्फको विरोध र आलोचना चिच्याइचिच्याइ प्रसारण गर्ने तर नेकपाको स्थायी कमिटीको बैठकलाई चाहिं पुरै बेवास्ता गरेको सजिलै थाहा हुन्थ्यो ।

कांग्रेस महासमिति समापनको दिन पुस ९ गते त पुरै सरकारलाई गाली गरेको विषय मात्रै राति ८ बजेको समाचारमा राम्रैसंग दिएको थियो । मानौं कि काग्रेसको महासमिति सरकारको विरोधकै लागि बसेको हो जसले पार्टीको बारेमा कुनै निर्णय गरेन । निर्मला पन्त बलात्कार÷हत्यादेखि शेरवहादुर देउवा सरकारले खरिद भएको दुई थान वाइड बढी विमानसम्म ओली सरकारले अपराध गरेको, भ्रष्टाचार गरेको लगायतका आलोचनाका कुरा समाचारमा रिठ्ठो नबिराई देखाइएको थियो ।

नेकपाको समाचारमा भने क्यामेरा नै नहुने जस्तो स्थिति रहेको बताइएको छ । समाचार खिच्न पठाउने गरेका प्रमुख सम्पादक महाप्रसाद लामिछाने नै काग्रेसको प्रेस युनियनको टेलिभिजनमा अध्यक्ष छन् । उनी कहिले काम माग्न पुनर्निर्माण प्राधिकरण जाने त कहिले कतातिर हान्निने गर्नाले पनि नेकपाको समाचार लुक्ने तर कांग्रेसको चाहिनेभन्दा बढ्ता खोक्ने गरेको थाहा भएको छ ।

टेलिभिजनमा डीजीएम दीपकमणि धितालको नेतृत्वमा रहेका कांग्रेसहरू नै कांग्रेसभन्दा चर्को गरेर समाचार र कार्यक्रमका बजाउने गरेको गुनासो दर्शकहरूको सुनिन्छ । उनीहरू अनामनगर, कोटेश्वर, पुतलीसडक र चाबहिललगायतका अखडामा म्यारिजमा जम्ने र टेलिभिजनमा फर्किएर कसले कति मा¥यो भन्दै हिसाबकिताब खुलेआम गर्ने गरेको हुँदा उनीहरूलाई कतिपयले बाह्रमासे भनेर पनि उडाउने गरेका छन् ।

कांग्रेसलाई उचाल्ने र सरकारलाई वाम सरकारलाई जनघाती सावित गराउने काममा वाइड एंगेल कार्यक्रम पनि सक्रिय रहेको छ । त्यसले महिनामा ३ दिन सरकार र नेकपालाई खुइल्याउने गर्छ भने एक दिन सरकारपक्षको अतिथि राखेर फेरि सेक्ने काम गर्छ । प्रमुख प्रतिपक्षभन्दा पनि क्रान्तिकारी भएर प्रेस युनियन पक्षले काम गरेपनि टेलिभिजन नेतृत्व उदारमनाका साथ प्रस्तुत हुने गरेको पत्रकारहरू बताउछन् ।

डा महेन्द्र विष्ट, अध्यक्ष, नेपाल टेलिभिजन ।
ती सबैसंग नेतृत्वको सम्बन्ध अन्य कर्मचारीभन्दा विशेष रहेकोले अरुले बोलेको मतलब नहुने गरेको बताइन्छ । स्मरण रहोस्, नेपाल टेलिभिजनमा वाम समर्थक भनिने हाल २ जना कार्यकारी प्रमुखमा महेन्द्र विष्ट र गोविन्द रोका रहेका छन् । भनिन्छ कि उनीहरू पनि टेलिभिजनमा नेकपाको सरकार नै जनघाती जस्तै गरेर देखाइसकेपछि मात्रै थाहा पाउँछन् तर पनि केही गर्न नसक्ने अवस्थामा छन्, एनटीभी स्रोत बताउँछ । (साँघु साप्ताहिक, पुस १६)

प्रकाशित मिति: १९ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्