मलेसिया जेलमा रहेका नेपाली छुटाइदिने भन्दै लाखौं ठगी



काठमाडौ मलेसियामा जेल परेका श्रमिकलाई छुटाइदिने भन्दै परिवारलाई ठग्ने गिरोह सक्रिय रहेको पाइएको छ । यस्तो ठगी मलेसिया प्रहरीसँग मिलेमतोमा हुने गरेको छ ।

मलेसियाले गैरकानुनी हैसियतका श्रमिकलाई थुन्ने र सजाय पूरा भएपछि ‘डिपोर्ट’ गर्ने अभियान चलाएसँगै दलालले ठगी धन्दा बढाएका हुन् । उनीहरूले जेल परेका श्रमिकलाई भेटेर परिवारको सम्पर्क नम्बर लिई रकम असुल्ने गरेका छन् । ‘मलाई छुटाइदिन्छु भन्दै परिवारसँग दुई लाख २१ हजार रुपैयाँ लिएको रहेछ,’ युवराज आचार्यले कान्तिपुरसँग भने, ‘नेपाल आएपछि मात्रै थाहा पाएँ ।’

उनका आफन्तले उदयपुरका सुमन लिम्बूलाई पैसा पठाइदिएका थिए । २०१२ नोभेम्बर ९ मा युनाइटेड एचआर सोलुसनबाट मलेसिया गएका आचार्य एक वर्षपछि मेडिकल परीक्षणमा फेल भए । कम्पनीले नेपाल पठाइदिन लागेपछि भागेर अन्तै काम गरिरहेका थिए । गत जुन ६ तारिखमा पक्राउ परे । ‘मसँग १३ सय ५० मलेसियन रिङगेट र दुइटा स्मार्ट फोन थियो, प्रहरीले त्यो केही फिर्ता गरेन, मलाई लेगजिङ क्याम्प र सुन्नाई बुलोह जेलमा ५ महिना राख्यो,’ उनले भने ।

जलान कार्ड ९मलेसियामा बस्न दिइएको परिचयपत्र० हुनेले एक सातामा जेलमा रहेको एक नेपालीलाई भेट्न पाउँछ । प्रहरीसँग चिनजान हुनेले भने एकैपटक धेरैलाई भेट्न सक्छन् ।

इलाम नगरपालिका–१, साँखेजुङका लालबहादुर तामाङ मलेसिया जेलमा थिए । गत मंसिर ११ गते नेपालमा रहेकी पत्नी मनमायालाई फोन आयो, ‘तपाईंका श्रीमान्लाई छुटाउन धरौटी राख्नुपर्ने भयो, तुरुन्तै ३ लाख रुपैयाँ पठाइदिनुहोला, छुट्ने बेला सबै फिर्ता हुनेछ ।’

फोन गर्नेले आफ्नो नाम राजदेव साह बताए । घर सप्तरी । मनमायाले गाउँघरबाट मलेसिया गएकालाई सोधेर मात्र पैसा पठाउने विचार गरेकी थिइन् तर फोनमा चेतावनी दिइयो, ‘यसबारे कोहीसँग बोल्ने होइन । गोप्य रूपमा छुटाउन लागेको हो । पैसा नपठाए श्रीमान् जिन्दगीभर जेलमै सड्छ ।’

मनमायाले मंसिर १३ गते आईएमईबाट नीराजन विष्ट र राम रायका नाममा २ लाख ८२ हजार रुपैयाँ पठाइदिइन् । ‘पैसा त पठाउँला तर भोलि श्रीमान् नछुटे के गर्ने भनेर सोधेकी पनि हुँँ,’ उनले कान्तिपुरसँग भनिन्, ‘तैंले पैसा पनि हाल्नुपर्दैन, खुरुक्क फिर्ता जा भनेर उल्टै गाली गर्‍यो ।’

लालबहादुर घर नफर्केको १० वर्ष भइसकेको थियो । गैरकानुनी हैसियतमा बसेकाले जेल परेका थिए । गम्भीर प्रकृतिको अपराध नभएकाले जम्मा तीन महिनाको सजाय थियो । उनी पुस १ गते स्वदेश फिरेपछि पत्नीलाई दलालले ठगेको थाहा पाए । ‘जेलबाट निस्कन टिकट मात्रै चाहिने हो ।

धरौटीबापत एक पैसा पनि कसैलाई तिर्नुपर्दैनथ्यो,’ लालबहादुरले भने, ‘जेलभित्र परेको मौकामा दलालले मेरो परिवारलाई ठगेछ ।’ अस्लम मियाँलाई छुटाउने बहानामा पनि सुमन लिम्बूले त्यसैगरी रकम असुले । ‘जेलबाट घरफिर्ती केन्द्रमा आइसकेको थिएँ, प्रहरीले घर फिर्ने मिति तोकेको थियो । टिकट चाहिएको थियो ।

त्यही बेला सुमन लिम्बूले भेटेर टिकट मगाइदिन्छु भन्दै मेरो परिवारको नम्बर लग्यो,’ अस्लम मियाँले भने, ‘परिवारलाई तर्साएर ३ लाख ५२ हजार रुपैयाँ उठाएछ ।’ प्रहरीसँग मिलेमतोबिना सोझै जेल आउन नपाउने उनले बताए । ‘मैले उसलाई कहिल्यै चिनेको थिइनँ । कसरी हामीलाई भेट्न जेलभित्रै आइपुग्यो,’ उनले भने, ‘यसमा पूरै सेटिङ चलेको रहेछ ।’

सम्सद मियाँको परिवार ४ लाख रुपैयाँमा ठगिएको छ । ‘धरौटी बुझाउनुपर्छ भन्दै रकम लिएका रहेछन्,’ उनले भने, ‘केन्द्रीय प्रहरी अनुसन्धान विभागमा उजुरी दिएको छु । श्रममन्त्रीलाई भेटेर जानकारी गराएको छु, त्यस्ता ठगलाई कारबाही होस् र हाम्रो पैसा फिर्ता होस् ।’

मलेसियामा नेपाली श्रमिकका हितमा कार्यरत प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलबहादुर कार्कीले जेलमा रहेकाका परिवारमाथि ठगी बढिरहेको बताए । ‘हरेक दिनजसो दलालले पैसा खाइदिएको गुनासो आइरहेको छ,’ उनले भने ।

मलेसियाको पेनाङस्थित जनउद्धार केन्द्रका अध्यक्ष केशु थापा जेलमा रहेका नेपालीलाई नेपालीले नै खुलेआम ठगेको बताउँछन् । ‘यस्ता विषय लुकेका छैनन्,’ उनले भने, ‘कारबाही नहुँदा दलालको मनोबल थप बढेको छ ।’

जेलभित्र यातना

गैरकानुनी हैसियतमा जेल राखिएका श्रमिकलाई प्रहरीले यातना दिने गरेको पीडित बताउँछन् । ‘घरफिर्ती केन्द्रमा बस्ने कैदीको अवस्था निकै दयनीय छ । पर्याप्त खानेकुरा दिइँदैन । ब्लाङकेट र म्याटको व्यवस्था छैन । चिसो भुइँमै बस्नुपर्छ । शौचालयको पानी पिउनुपर्छ,’ आचार्यले भने, ‘बिनाकारण प्रहरीले पिट्छ ।’

प्रहरीको यातनाबाट जोगिन पैसा बुझाएको उनले बताए । ‘हुनेले प्रहरीलाई पैसा दिएर यातनाबाट जोगिन्छ, जोसँग पैसा छैन, उनीहरू यातनाको भागीदार बन्नुपर्छ,’ उनले भने, ‘मलाई प्रहरीले २५ पटक पाइपले पिट्यो ।’ प्रहरीले कैदीलाई ५ सय पटकसम्म उठबस गराएर रमिता हेर्ने गरेको पीडित बताउँछन् ।

‘हामीलाई उठबस गराएको हेर्न पाउँदा प्रहरी रमाइलो मान्थे,’ नवलपरासीका राकेश वस्तीले भने, ‘आर्थिक स्थिति कमजोर भएकै कारण लुकीछिपी बस्नुपरेको थियो । परिवारसँग टाढिन कसैलाई रहर छैन । दुस्ख गरी कमाएको पैसा एकै रातमा दलालबाट लुटियो ।’

नेपाली दूतावासले निरन्तर बुझिदिएको भए आफूहरू लुटिन नपर्ने उनीहरू ठान्छन् । ‘जेलमा दूतावास आएर सोधपुछ गर्ने, परिवारसँग सम्पर्क गर्ने वातावरण मिलाइदिएको भए हामी लुटिन्नथ्यौं,’ धनुषाका मनीकुमार महतोले भने ।

‘पैसा नदिनू, टिकट पठाइदिनू’

मलेसियास्थित नेपाली दूतावासले जेलमा रहेका श्रमिकका परिवारलाई कसैले माग्दैमा पैसा नदिन, बरु दूतावासलाई खबर गर्न भनेको छ ।

‘कैद भुक्तान भइसकेपछि जेलबाट घरफिर्ती केन्द्रमा सार्छ । स्वदेश फिर्ने मिति निश्चित भएको जानकारी प्रहरीबाट आउँछ । दूतावासले ट्राभल डकुमेन्ट बनाइदिन्छ । त्यसपछि तोकिएको मितिको टिकट चाहिन्छ,’ श्रम काउन्सेलर बद्री कार्कीले भने, ‘परिवार सदस्यले कसैलाई पैसा नदिनू । पैसा मागे दूतावासलाई जानकारी दिनुपर्छ । दूतावासलाई टिकट पठाइदिए हुन्छ ।’

उनले नेपालीको अवस्था बुझ्न नियमित जेल जाने गरेको बताए । ‘हाम्रो जेल जाने तालिका नै छ,’ उनले भने । दूतावासले राष्ट्रिय मानव अधिकार आयोगलाई ४ सय ३३ जना नेपाली जेलमा रहेको विवरण उपलब्ध गराएको छ ।

‘अधिकांश नेपाली भाषाकै कारण, रोजगारदातासँगको सामान्य विवाद र काम छोडेर हिँडेको कारण जेल बस्नुपरेको देखिन्छ,’ आयुक्त सुदीप पाठकले भने, ‘न्यायमा पहुँच नहुँदा श्रमिक झन् मर्कामा परेका छन् । श्रमिकको मानव अधिकारको प्रत्याभूति नै भएन ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News