महिला टी–२० स्म्यास क्रिकेटमा नेपालद्वारा मलेसिया ६ विकेटले पराजित


 


काठमाडौं : थाइल्याण्डमा जारी थाइल्याण्ड वुमन्स टी-२० स्म्यास क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित हासिल गरेको छ । आइतबार बिहान भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले प्रतियोगितामा आफ्नो दोस्रो जित निकालेको हो । मलेसियाले दिएको ६२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पार गर्‍यो ।

नेपालका लागि रोमा थापाले नटआउट २० रनको योगदान गरिन् । उनले २४ बलमा १ चौका हिर्काइन् । ममताकुमारी चौधरी ९ रनमा अविजित रहे । उनले १५ बल खेलिन् । त्यसअघि सरिता मगर रन नै जोड्न नपाइ रनआउट भइन् । कजल श्रेष्ठ ६ रनमा आउट भइन् भने सीता रानामगरले १६ रन बटुलिन् । रनआउट हुनुअघि उनले ३६ बलमा १ चौका प्रहार गरिन्। इन्दु बर्मा ३ रनमा आउट भइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३ बल खेल्न बाँकी छदा ६१ रनमा अलआउट भयो । मलेसियाका लागि युश्रीना याकोबले ११ रन र जीन यीले १२ रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङमा नेपालकी सरिता मगरले सर्वाधिक ४ विकेट लिइन् । उनले ३.३ ओभरमा ११ रन खर्चिइन् । कविता कुँवर, इन्दू बर्मा र नेरी थापाले समान १-१ विकेट लिए ।

प्रकाशित मिति: २९ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्