नेपाललाई फसाउने षडयन्त्र भइरहेको छः बिजुक्छे


 


काठमाडाैँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विभिन्न बहानामा नेपाललाई फसाउने षडयन्त्र भइरहेको बताउनुभएको छ । देकाचामा आज भक्तपुर नगरपालिकाको चौथो नगरसभामा उहाँले नेपाललाई फसाउने षडयन्त्रप्रति सरकार सचेत हुनुपर्ने बताउनुभयो ।

यसैबीच भक्तपुर नगरपालिकाले आव २०७५/७६ को साउनदेखि मङ्सिरसम्म आन्तरिकतर्फ रु १७ करोड ९७ लाख ५९ हजार राजश्व सङ्कलन गरेको छ । नगरसभामा नगरपालिकाका प्रमुख सुनील प्रजापतिले आव २०७४/७५ को सोही अवधिमा रु १३ करोड ९९ लाख ४३ हजार राजश्व सङ्कलन गरेकामा चालू आवमा २८.४५ प्रतिशतले राजश्व वृद्धि भएको जानकारी दिनुभयो ।

नगरपालिकाले आव २०७५/७६ मा ४१ नगरस्तरीय योजनाका लागि रु ३६ करोड ५१ लाख २३ हजार रकम विनियोजन गरेकामा ५० प्रतिशतसम्म निर्माण सम्पन्न भएको जनाएको छ । त्यस्तै क्रमागत योजनामा रु १६ करोड २३ लाखको योजनामध्ये भौतिक पूर्वाधार विकासतर्फ २० र सम्पदातर्फ १३ योजना सम्पन्न भएको छ । रासस

प्रकाशित मिति: १ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्