इन्धनकाे मूल्य भारतमा घट्यो, नेपालमा बढ्यो


 


काठमाडाैं नेपाल आयल निगमलाई तेल बिक्री गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले भारतीय बजारमा १२ दिनयता मूल्य घटाइरहेको छ । तर, सोही कम्पनीबाट इन्धन खरिद गर्ने नेपाल आयल निगमले उपभोक्ताको अपेक्षाविपरीत पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको छ । निगमले शनिबार रातिबाट लागू हुने गरी मूल्य बढाएपछि उपत्यकामा पेट्रोल १ सय १० र डिजेल तथा मट्टीतेल ९७ रुपैयाँ पुगेको छ । बजारमा पेट्रोल, डिजेलको भाउ बढ्नासाथ दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, सार्वजनिक यातायातको भाडादरलगायतमा असर पर्दै आएको छ ।

आइओसीले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार शुक्रबार आयल निगमलाई नयाँ मूल्यसूची पठाएकै दिन भारत भर पेट्रोलमा १५ पैसा र डिजेलमा १० पैसा प्रतिलिटर मूल्य घटाएको छ । शुक्रबारको मूल्यअनुसार दिल्लीमा पेट्रोलको मूल्य ७१.०९ भारुबाट घटेर ७०.९४ र डिजेलको मूल्य ६५.८१ भारुबाट घटेर ७५.७१ भारु प्रतिलिटर कायम भएको छ । भारतमा डिजेल र पेट्रोलको मूल्य ८ पुस ( २२ जनवरी) यतादेखि घटिरहेको छ ।

तर, निगमले आफूलाई आगामी १५ दिनमा १ अर्ब १६ करोड रुपैयाँ नाफा राखेर मूल्य बढाएको हो । दैनिक ५० करोडको पेट्रोलियम पदार्थ बिक्री गर्दा निगमले ७ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गर्ने देखिन्छ । अर्थात् सरकारको पूर्ण स्वामित्वमा रहेको संस्थानले १४ प्रतिशतभन्दा बढी नाफा राखेर इन्धन बिक्री गरिरहेको छ । अत्यावश्यक वस्तुको बिक्रीमा राखिएको नाफाको यो दरलाई उच्च मानिन्छ । आइओसीले प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउँछ । शुक्रबार नयाँ मूल्यसूची पाउनेबित्तिकै शनिबारदेखि मूल्य बढाइएको हो । तर, निगमले इन्धनको भाउ घटाउने वेलामा भने २–३ दिन पर्खन्छ ।

नयाँ कार्यकारीको पनि पुरानै चाल
भर्खरै आयल निगममा नयाँ कार्यकारी प्रमुख सुरेन्द्र पौडेल नियुक्त भएका छन् । उनले सञ्चित नोक्सानीमा गुज्रिरहेको उदयपुर सिमेन्टलाई नाफामा लगेर चर्चा पाएका थिए । सिमेन्ट उद्योगमा जस्तै निगममा रहँदा उपभोक्तालाई सन्तुष्ट पार्ने अपेक्षा गरिएको थियो । तर, चर्को नाफा राखेर मूल्य बढाएपछि उपभोक्ता आक्रोशित भएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले निगममा जोसुकै आए पनि सुधार हुने अपेक्षा गर्नु बेकार हुन थालेको बताए । ‘जुन जोगी आए पनि कानै चिरेको भनेजस्तो भयो । निगममा सुधार गरेर उपभोक्तालाई सन्तुष्ट पार्ने कार्यकारी प्रमुख भेटिएलाजस्तो छैन,’ उनले भने ।

निगमले भने १५ दिनअघि आइओसीबाट मूल्य बढेर आउँदा नेपाली बजारमा समायोजन नगरेको तर्क गर्दै यसपटक भाउ बढाएको बताएको छ । नवनियुक्त कार्यकारी निर्देशक पौडेलले भने, ‘यसअघि आइओसीबाट मूल्य बढेर आउँदा नेपाली बजारमा स्थिर राख्यौँ, त्यो कुरा बुझिदिनुप-यो ।’ उनले संस्था चलाउन पनि विगतका घाटालाई पूर्ति गर्दै जानुपर्ने विकल्प नभएको बताए ।

‘के गर्नु ? संस्था पनि चलाउनुपर्छ । विगतमा निगमले नोक्सान खाएको रहेछ, त्यसलाई पूर्ति गर्न अहिले भाउ बढाइएको हो,’ उनले भने, ‘अब नियमित रूपमा अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्ने देखिन्छ । त्यसैले ह्वात्तै बढाउनुको सट्टा यसरी नै बिस्तारै बढाउँदा उचित देखिन्छ ।’ यसपटक १ अर्ब १६ करोड रुपैयाँ नाफा राखेको निगमले अझै घाटा पूर्ति हुन बाँकी रहेको जनाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्