प्रक्रियामा गएर भएपनि प्रदेशको नाम र राजधानी टुंगो लाग्छ : मुख्यमन्त्री राई


 


विराटनगर, माघ २०

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रक्रियामा गएर भएपनि प्रदेशको नाम र स्थायी राजधानी टुङ्ग्याउने बताउनु भएको छ ।
प्रदेशको नाम र राजधानी यही अधिबेशनबाट टुग्याउने बारेमा गृहकार्य शुरु भएको जानकारी दिँदै मुख्यमन्त्री राईले त्यसको लागि प्रदेशलाई समृद्ध बनाउन जिम्मेवार दलहरु सहमतीमा आउनेमा विस्वस्त रहेको बताउनुभयो ।

प्रदेश सभाको तेश्रो अधिवेशन शुरु हुनु भन्दा अघि आज पत्रकार भेटघाट गर्दै मुख्यमन्त्री राईले सहमतिमा प्रदेशको नाम र राजधानीको बिषय टुंगो लगाउन बारेमा उच्चस्तरमा भएको सहमती अनुसार प्रदेश सरकार लागेको स्पष्ट पार्नुभयो । मिडियामा आए जस्तै नेकपाको उच्च संयन्त्रले नाम र राजधानीको बिषय टुंगोमा नपुर्याएको भन्दै यसको अधिकार सार्वभौम प्रदेश सभामा निहित रहेकोले प्रदेशसभाबाट नै सहमतीको आधारमा टुङ्गो लगाउने अन्यथा सहमती हुन नसके प्रक्रियाबाट भएपनि यसै अधिबेशनले प्रदेशको स्थायी राजधानी र नाम टुङ्गोमा पुग्ने स्पष्ट पार्नुभयो ।

‘हामीलाई कुनै पनि दलको उच्चस्तरबाट लिखित या मौखिक जानकारी आएको छैन, मुख्यमन्त्री राईले भन्नुभयो, प्रदेशको नाम र राजधानी कुनै ब्यक्तिले भनेर हुँदैन, यो अधिकार सार्बभौम संसदलाई छ ।’ कसैले मिडियामा भनेको भरमा नाम र राजधानीको बिषय टुंगोमा लाग्ने विषय नभएको उहाँको जिकिर छ ।

नाम र राजधानीका बिषयमा धेरै प्रस्ताव आएपनि प्रदेश सभामा यो बिषयले प्रवेश नपाएको बताउनुभयो । प्रदेशको नाम र राजधानीलाई सदनमा प्रवेश गराउनको लागि कुन बिधिबाट लग्ने भन्ने स्पष्ट कानुनी आधार नभएकोले अब पहिलो काम संसदले बिधि र प्रक्रिया बनाएपछि मात्र प्रवेश पाउनेछ । मुख्यमन्त्री राईले अव चाँडै मन्त्रीपरिषद विस्तार हुने समेत बताउनुभयो ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्