तराई–मधेस समृद्धि कार्यक्रम अन्र्तगत रतुवामाईमा डेढ करोड बजेट निकाशा


 


रतुवामाई, माघ २०

तराई–मधेसका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्न लागु भएको तराई–मधेस समृद्धि कार्यक्रम अन्र्तगत मोरङको रतुवामाई नगरपालिकामा रु एक करोड ५० लाख बजेट निकाशा भएको छ ।

मोरङ क्षेत्र नं. २ का पूर्व सांसद् ऋषिकेश पोख्रेलको पहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो बजेट अनुदान दिएको हो । मन्त्रालयले रतुवामाई नगरपालिका – ८ मा दाम्राभिट्टा सामुदायिक भवन निर्माणका लागि रु ५० लाख बजेट अनुदान निकाशा गरेको छ ।

सो वडाका वडाध्यक्ष गोपी चाँपागाईका अनुसार दाम्राभिट्टामा सामुदायिक भवन निर्माणका लागि अढाई कट्ठा जग्गा उपलब्ध भईसकेको छ । सो योजनामा स्थानीय तहले रु ५ लाख उपलब्ध गराउनुपर्नेछ । पूर्व सांसद् पोख्रेल र वडाध्यक्ष चाँपागाईको विशेष पहलमा सामुदायिक भवन निर्माण हुने पक्का भएको हो ।

यसैगरी रतुवामाई नगरपालिका – ४ को झुर्किया बजारमा कृषि बजारको लागि कृषि संकलन केन्द्र निर्माण हुने भएको छ । सोका लागि मन्त्रालयले रु एक करोड बजेट अनुदान निकाशा भएको छ । सो योजनाका लागि स्थानीय तहले रु १० लाख उपलब्ध गराउनुपर्नेछ ।

तराई–मधेसमा बसोवास गर्ने जनताको सघन रुपमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्न एवं जनताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सो कार्यक्रम लागू गरेको हो । प्रदेश नं १ को झापा, मोरङ र सुनसरीमा यस कार्यक्रम संचालन गरिएको छ ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्