विराटनगरमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या


 


विराटनगर, माघ २०

विराटनगरकी ११ वर्षिया बालिका रुपमती दासको सामूहिक बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर ८ का २५ वर्षीय अब्बास अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरेको छ ।

दुबै जना लागूऔषध प्रयोगकर्ता हुन् । प्रहरीले घटनाको एक सातापछि दासको सामुहिक बलात्कारपछि हत्या भएको जानकारी दिएको हो । पोष्टमार्टम रिपोर्टले पनि बलात्कारपछि हत्या भएको देखिएको प्रहरी स्रोतको दाबी छ ।

विराटनगर महानगरपालिका–८ बलुवाईकी गुडिया भनिने रुपमतीको हत्यामा पक्राउ परेका दुवै युवा उनकै छिमेकी हुन् । प्रहरीले घटनाको अनुसन्धानका क्रममा शंकास्पद भन्दै ११ जनालाई निगरानीमा राखेर सोधपुछ गरिरहेको थियो ।

प्रहरीले अनुसन्धानका लागि गरेको चौथो पटकको प्रयासपछि घटनामा अन्सारी र महतोकै संलग्नता पुष्टि भएको हो । हत्यामा संलग्न लागूऔषध दुव्र्यसनी भएको प्रहरीले जनाएको छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार सुरुमा मुख बन्द गरेर उनीहरुले घरदेखि लगभग पाँच सय मिटर पर रहेकोको खोलाको डिलको चौरमा पुर्याएपछि बलात्कार गरेका हुन् ।

बालिकाले चिच्याउन र कराउन बल गरेपछि अन्सारी र महतोले मुख र घाँटी थिचेर पालैपालो बलात्कार गरेको ती प्रहरी अधिकारीको भनाइ छ । बलात्कार गरिरहेकै बेला त्यहीँ छेउमा रहेको बाटो हुँदै राति ९ बजेतिर एक वृद्धा हिंडेको देखेपछि आफूहरु भएतिरै आएको आशंका गरेर उनीहरुले रुपमतीलाई बगिरहेको खोलाको पानी भित्र हालिदिएर हिँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनिहरुले त्यसअघि दुई युवतिमाथी पनि बलात्कारको असफल प्रयास गरेका थिए । त्यो प्रयास असफल बनेपछि टिभी हेर्न भनेर निस्किएकी बालिका उनीहरुको अपराधको सिकार बन्नु परेको प्रहरीको भनाइ छ । युवतीलाई निशाना बनाउनु अघि पनि एक महिलालाई अन्सारीले पाउरोटीमा लागूऔषध नाइट्रोसन मिसाएर खुवाइ बलात्कारको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटना लगतै अनुसन्धान सुरु गरेको थियो । घटना लगतै पक्राउ परेका दुबैले घटना स्वीकार गरेपनि प्रहरीले प्रमाण जुटाउन सकेको थिएन । खोलामा शव फ्याकेका कारण प्रमाण जुटाउन समय लागेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्