अब सक्किने पालो प्रचण्डको !


 


दीपेन्द्र पाण्डे काठमाडौं फागुन ३
गत माघ २५ गते राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पुनः माओवादी द्वन्द्व जन्माउने धम्की दिए । पूर्वएमाले नेता केपी ओलीलाई प्रधानमन्त्री बनाइदिए तमाम पापकर्मले मुक्ति पाउने निचोडसहित माओवादी केन्द्र समाप्त गर्दै नेकपा अध्यक्ष बन्न सफल प्रचण्ड फेरि एकपटक मिडियामा छाएका छन् । एक पुस्तक विमोचन कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले सरकारको खुलेर आलोचना गर्ने बहानामा पहाड र तराईमा नयाँ द्वन्द्व जन्मने धम्की दिए । शान्तिसम्झौता र संविधानको मर्मविपरीत सरकार अघि बढे देश नयाँ द्वन्द्वमा फस्ने चेतावनीपछि मुलुकले प्रचण्डलाई किन र कहिलेसम्म बोक्ने भन्ने प्रश्न गम्भीर ढङ्गले उठेको छ ।

मुलुकमा स्थायी सरकार छ, घोषणापत्र छ, कार्यक्रम छ, सपना छ, भीमकाय पार्टी छ । जनता समृद्धिको पर्खाइमा छन् । मुलुकमा राजतन्त्र छैन । माओवादी ध्वंस छैन । संसदीय अस्थीरता छैन । यस्तो ‘अनुकुल’ परिस्थितिमा पनि नेकपा अध्यक्ष किन नयाँ द्वन्द्व जन्माउन तम्सिँदै छन् ? जनताको इच्छा र चाहनाविरुद्ध प्रचण्ड स्वार्थको निम्ति मुलुकले अझै कति कुर्वानी दिनुपर्ने हो ? प्रचण्डको अनुपयुक्त शैलीपछि जनता एकसाथ निराश र क्रूद्ध छन् ।

विश्लेषकहरू भन्ने गर्छन्– प्रचण्ड अस्थिर छन् । वास्तवमा उनी अस्थिर होइन, रणनीतिक छन् । आफ्नो स्वार्थको निम्ति हदैसम्म गिर्न सक्छन् । उनी एकसाथ प्रेम र घृणाको अभिनय गर्न सक्छन् । सँगसँगै रुन र हाँस्न सक्छन् । सोझासीधा जनताको आँखामा मात्र होइन पूर्वराजा ज्ञानेन्द्र, दिवंगत प्रधानमन्त्री गिरिजा, वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव, वर्तमान प्रधानमन्त्री ओलीलाई समेत झुक्याउन सक्छन् । उनको हरेक चालबाजी नेपाली राजनीतिमा जमेकै छ । उनले जस–जसलाई बोके तिनीहरू क्रमशः सकिए । उनको हरेक राजनीतिक सिकारमा अदृश्य शक्तिले फाइदा लुटेकोलुटै छ ।

प्रचण्ड–मार्गबाट हिँडेको ओली–राजनीतिले छटपटिएका प्रचण्ड मुलुकमा विचित्र प्रयोग गर्न तम्सिएका छन् । प्रधानमन्त्री ओलीले दक्षिण, उत्तर र पश्चिमसँग खेलेको केटौले कूटनीतिपछि तर्सिएका प्रचण्ड आफ्नै पार्टीको सरकारविरुद्ध भेनेजुएला विज्ञप्तिमार्फत खेल्न पुगे । पश्चिमको स्वार्थमा धक्का दिने भेनेजुएला तीरपछि रन्थनिएको ओली सरकार प्रचण्डलाई साइजमा राख्ने खेल खेल्न थालेसँगै जन्माइएको माओवादी विद्रोहको लफ्फाजी छताछुल्ल हुँदै छ ।

सत्तामा पुग्न प्रयोग गरिएका माओवादी लडाकुहरू खुनको आँसु रोइरहेका छन् । नक्कली लडाकुको नाममा राज्य लुट्नेहरू जनताको संवेदनामाथि खित्का छोडेर हाँस्दै छन् । मुलुक अस्तित्वरक्षाको लडाइँमा होमिएको छ । यी तमाम समस्याको प्रमुख कारण प्रचण्डको पैसा र कुर्सीमोह थियो

तत्कालीन दरबारले ०४६ को जनआन्दोलनमार्फत गुमाउनुपरेको राजनीतिक शक्ति प्राप्त गर्न प्रयोग गरेको प्रचण्ड ध्वंस मुलुकमा कसरी फैलियो ? भनिइरहनुपरेन । पञ्चायतले तीस वर्ष शासन गर्दा छोडेको असङ्ख्य कमी–कमजोरीलाई ‘शिशु प्रजातन्त्र’को थाप्लोमा हाल्दै मच्चाइएको माओवादी ध्वंस दरबार हत्याकाण्डपश्चात् कसरी मौलायो ? दरबारले जन्माएको, दक्षिणले हुर्काएको, पश्चिमले हाइज्याक गरेको प्रचण्ड–राजनीति नेपाल र नेपालीको निम्ति छँदै थिएन भन्ने पुष्टि मुलुकलाई दशकौँ पछि पार्ने आर्थिक र अथाह मानवीय क्षतिपश्चात् स्थापित आयातीत उपलब्धि हेरे थप व्याख्याको जरुरत पर्दैन । फगत पैसा र कुर्सीको निम्ति प्रयोग हुने र गर्ने प्रचण्ड राजनीति मुलुक र मुलुकवासीले बुझ्ना साथ केपी ओलीको शरणमा पर्दै राजनीतिक वैतरणी तर्न राजी भए । सियो बनेर पस्ने र फाली बनेर निस्कने पूर्वनियोजित रोडम्यापमा प्रधानमन्त्री ओलीको आवश्यक सहयोग प्राप्त नहुँदा विचित्र किसिमको विष वमनपछि प्रधानमन्त्री ओलीलाई ठूलो ट्र्यापमा पार्ने कसरत जोडतोडसँग चलेको सङ्केत मिल्दै छ ।

०५८ मा दरबार र शेरबहादुर देउवाको विशेष आशीर्वाद प्राप्त गर्दै होलेरीबाट बाँच्न सफल प्रचण्ड–राजनीति मुलुकको निम्ति भष्मासुर बन्न पुगेको छ । तत्कालीन होलेरी काण्डमा आवश्यक र उचित कारबाही गर्ने गिरिजा सरकारको निर्णय थाहा पाउनासाथ शेरबहादुरको सहयोग लिन मरिहत्ते गर्ने प्रचण्ड–कला जीवनदानमा बदलियो । राजदरबारमा सैन्यसचिवको योगदान निभाइसकेका शान्तकुमार मल्लको अदृश्य सहयोग देउवामार्फत प्रचण्डले प्राप्त गरेसँगै मुलुक असफलताको बाटोमा दौडियो । होलेरीमा सैनिक कारबाही सम्पन्न हुनासाथ मुलुकले प्रचण्ड समस्याबाट मुक्ति पाउने गिरिजा कदम असफल भएसँगै ओरालो लागेको मुलुकको राजनीति आजसम्म त्यसैको सिकार भइरहेको प्रमाण पछिल्लो धम्कीलाई लिन सकिन्छ ।

राजनीतिक उपलब्धिको नाममा माओवादी ध्वंसपश्चात् समानुपातिक सहभागिता, समावेशिताको नाममा नयाँखाले शोषणलाई स्थापित गरियो । विवाह गर्दा अन्तरजातीय भन्दै गर्ने, राज्यबाट सेवा–सुविधा लिँदा पुरानै जात खोज्ने विचित्र पद्धति मुलुकमा भित्र्याइयो । तीन तहको सरकार भन्दै जनताको थाप्लामा अतिरिक्त बोझ बोकाइयो । भ्रष्टाचार वडा र गाउँसम्म पुऱ्याइयो । आमनागरिकलाई जग्गा बेचेर ‘सम्पति कर’ तिर्न बाध्य पारियो । प्रचण्ड ध्वंसको सफल प्रयोग मुलुकमा स्थापित हुँदै गर्दा १२ हजारभन्दा बढी चर्च निर्माण गरियो । बलियो संस्था कुनै बाँकी छैन । एमालेजस्तो चुस्त–दुरुस्त पार्टी रणनीतिक ढङ्गले लोप बनाइयो । विगत ध्वंसमा हजारौँ युवा–युवती अङ्गभङ्ग भए । असङ्ख्य मानिस हराइरहेका छन् । सरकार र माओवादीतर्फबाट मर्कामा परेका मानिस आजपर्यन्त न्याय नपाएर तड्पिरहेका छन् । अपराधीहरू खुलेआम डुलिरहेका छन् । सत्तामा पुग्न प्रयोग गरिएका माओवादी लडाकुहरू खुनको आँसु रोइरहेका छन् । नक्कली लडाकुको नाममा राज्य लुट्नेहरू जनताको संवेदनामाथि खित्का छोडेर हाँस्दै छन् । मुलुक अस्तित्वरक्षाको लडाइँमा होमिएको छ । यी तमाम समस्याको प्रमुख कारण प्रचण्डको पैसा र कुर्सीमोह थियो र हो भन्ने पुष्टि भइसक्दा पनि उनको हुँकार नरोकिनु खेदजनक मानिएको छ ।

आफ्नो स्वार्थको निम्ति हदैसम्म गिर्न सक्छन् । उनी एकसाथ प्रेम र घृणाको अभिनय गर्न सक्छन् । सँगसँगै रुन र हाँस्न सक्छन् । सोझासीधा जनताको आँखामा मात्र होइन पूर्वराजा ज्ञानेन्द्र, दिवंगत प्रधानमन्त्री गिरिजा, वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव, वर्तमान प्रधानमन्त्री ओलीलाई समेत झुक्याउन सक्छन् ।

प्रचण्डको चरम महत्वाकाङ्क्षाको कारण जन्मिएको माओवादी ध्वंसको नाममा पहाड खाली गराइयो । धर्तीपुत्र तराईवासीलाई अल्पमतमा पार्न राजनीतिक अस्थिरताको आडमा लाखौँ नागरिकता बाँडियो । ९५ प्रतिशत ॐकार परिवारलाई अछुत व्यवहार गरियो । अनेक घाटको पानी सँगै खाएको नुन र गुन तिर्न एकाध प्रतिशत इसाईको अधिकार स्थापित गर्दै संविधानलाई कुरूप बनाइयो । कम्तीमा नाम मात्रको भए पनि दरबारले प्रयोग गर्दै आएको सार्वभौमसत्ता मुलुकबाट गायब पारियो । विदेशीले बनाइदिएको सीमित भौतिक संरचना नियोजित रूपले ध्वस्त बनाइयो । भएका उद्योगधन्दा बन्द गरियो । नयाँ जन्मन नसक्ने अवस्था सिर्जना गरियो । कृषिप्रधान मुलुक जमिन बाँझो राख्दै युवा निर्यातमा लम्कियो । दैनिक सयको हाराहारी युवा विदेश जानेमा हजारौँ पु¥याइयो । जिउँदो युवालाई निर्यात गर्दै रेमिट्यान्ससँगै काठको बाक्सामा लास आयात गर्न बाध्य पारियो ।

मुलुकलाई असफल राष्ट्र बनाउन ठूलो ध्वंस मच्चाइयो । भ्रष्टाचार, घुसखोरी, प्राकृतिक साधनको दोहन, दुरुपयोग, अन्याय, अत्याचार, राज्यको अभिन्न अङ्ग बनाइयो । भाषा, साहित्य, परम्परा, जातीय क्षेत्रीय एकता मुसाको सिङ बनाइयो । हजारौँ युवादिमाग पलायन गराइयो । मुलुक विदेशीको क्रीडास्थल बनाइयो । राज्य संयन्त्र, ढुकुटी र संस्थाको चरम दुरुपयोग गर्दै पङ्गु बनाइयो । संवैधानिक निकायमा अनुपयुक्त मानिस भर्ती गर्दै लुटपाट मच्चाइयो । भर्खरै बौरिन शुरु गरेको मुलुकमा फेरि पनि निजी स्वार्थको निम्ति माओवाद जन्मने वा जन्माउने प्रचण्ड–उद्घोष कुन लक्ष्यको निम्ति गरिँदै छ ? के उनी मुलुक विघटनकै निम्ति जन्मिएका हुन् ? अथाह सम्भावना बोकेको मुलुकमा जनताले दिएको दुईतिहाइको सदुपयोग गर्दै समृद्ध नेपाल निर्माणमा लाग्दै विगतको पापमोचन गर्नुको सट्टा धम्कीपूर्ण भाषाले उनको नियत, हैसियत मुलुकको निम्ति अपाच्य, अनुपयुक्त, दुर्भाग्यपुर्ण र आपत्तिजनक रहेको ठोकुवा गर्न सकिन्छ । पटक–पटक सभासद्, दुईपटक प्रधानमन्त्री, जीवनभर पार्टीअध्यक्ष, अथाह सम्मान र अधिक भरोसा जनताले सुम्पिँदा पनि सहकार्य, मेलमिलाप र क्षमायाचना गर्न चुकेका प्रचण्डको मुखबाट फुत्किएको नयाँ चेतावनीपछि प्रचण्ड–प्रयोग मुलुकमा नियोजित तवरले भएको र हुँदै गरेको फेरि एकपटक पुष्टि भएको छ ।

अनुपयुक्त समयमा प्रचण्डले ‘बाउन्सर’ फ्याँकेका छन् । सौभाग्यवश उनको बाउन्सर ‘नो बल’मा बदलिएको छ । जनताले अतिरिक्त रन प्राप्त गर्दै फ्री हिट हान्दा प्रचण्ड छक्का खान विवश छन् । जीवनभर अन्तरविरोधमा खेल्दै व्यक्तिगत फाइदा लुटेका प्रचण्ड र ०४४ पछि पूर्वमालेको केन्द्रीय सदस्य बनेसँगै फुटाऊ र राज गरको नीतिमा जमेको ओली–राजनीति नेकपाको नाममा जम्न मुस्किल देखिन्छ । नीति, नियम, विधि, विधान, सिद्धान्तसँग साक्षात्कार गर्न कहिल्यै राजी नभएको प्रचण्ड–राजनीति ओली चेपुवामा परेसँगै निस्किएको बर्बराहट मुलुकले कुबेलामा सुन्दै छ । दरबारले प्रचण्ड बोक्यो, दरबार सकियो । काङ्ग्रेसले बोक्यो, काङ्ग्रेस सकियो । एमालेले बोक्यो, एमाले सकियो । मुलुकले फैसला गर्नैपर्छ । फेरि पनि माओवाद जन्माउन चेतावनी दिने प्रचण्ड बोक्नु भनेको मुलुक सक्न मात्र हुनेछ । शान्ति, स्थिरता, विकास र समृद्धिको सपना देखाउँदै प्राप्त संसदीय अङ्कगणितपछि खोजिएको नयाँ द्वन्द्व मुलुकले अस्वीकार गर्दा सकिने पालो प्रचण्डकै हुनेछ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्