सगरमाथाको बेस क्याम्प घुम्न जाने पर्यटकलाई चीनले लगायो प्रतिबन्ध


 


एजेन्सी फागुन ४
चीनले तिब्बततर्फ रहेको सगरमाथाको बेस क्याम्प (आधार शिविर) घुम्न जाने पर्यटकलाई रोक लगाएको छ ।

चिनियाँ सञ्चार माध्यमहरुले जनाएअनुसार सगरमाथाको बेस क्याम्पमा फोहोरको डङ्गुर थुप्रिएपछि त्यसको सरसफाइका लागि केही समय पर्यटकलाई भ्रमण गर्न रोक लगाइएको हो ।

प्रतिबन्ध सामान्य पर्यटकलाई मात्रै लगाइएको र सगरमाथा आरोहीहरुका लागि भने प्रतिबन्ध नरहेको सिन्ह्वाले जनाएको छ ।

समुद्री सतहबाट झण्डै ५ हजार मिटरमा रहेको रङ्पो गुम्बाबाटै पर्यटकलाई प्रवेशमा रोक लगाइएको चिनियाँ प्रकृति संरक्षणका अधिकारीहरुले जानकारी दिएका छन् ।

सिन्ह्वाका अनुसार पर्यटकहरुलाई अहिले भएको आधार शिविरभन्दा दुई किलोमिटर वर नै अर्को आधार शिविर बनाइने भएको छ ।

पछिल्लो समय चीनतर्फ र नेपालतर्फबाटै सगरमाथाको आधार शिविरसम्म घुम्न जाने पर्यटकको संख्या बढिरहेको छ । गएको वर्ष मात्रै सगरमाथा आरोहण गर्नेको संख्या ८ सय भन्दा बढी रहेको थियो ।

प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्